बालुवा खानी र ग्रामीण सडकबाट लेदोे खस्दा गल्छी–महेशदोभान सडकखण्ड अबरुद्ध

3799 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महेशदोभान – गल्छी गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटो सहितको पहिरो खसेपछि अबरुद्ध भएको पृथ्वीराजमार्गको अबरोध अहिले खुलेको छ । लेदो माटो वगेर सडकमा थुप्रिएपछि मंगलबार विहान ६ वजेबाट महेशदोभान गल्छी खण्डको पृथ्वीराजमार्गमा सवारी आवागमननै ठप्प हुन पुगेको थियो ।
राती देखि परेको बर्षाका कारण राजमार्गको माथि तिर जताततै खुलेका ग्रामीण सडक र बालु्वा उत्खनन स्थलहरुबाट लेदोमाटो वग्दै राजमार्गमा थुप्रिन थालेपछि पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको हो ।
सडकमा थुप्रिएको लेदो माटो स्काभेटरको सहायताले पन्छाएपछि विहान ८ वजेबाट एकतर्फि खुलेको पृथ्वीराजमार्गको महेशदोभान गल्छी सडक खण्डमा सडकमा जमेको हिलोले गर्दा अझै पनि सवारी सञ्चालनमा समस्या भईरहेको छ ।
यस क्षेत्रमा बर्षेनी पटक पटक यस्तै समस्या आउने गरेको भएपनि जथाभावी ग्रामीण सडक निर्माणको अनुमति दिने स्थानीय तह, सडक विभाग र अन्य जिम्मेवार निकायले दिर्घकालिन रुपमा समस्या समाधानका लागि चासो नदिएको स्थानीयको आरोप छ । यस क्षेत्रमा सडक अवरुद्ध हुंदा सवारी साधनहरुमात्रै होइन सर्वसाधरणलाई समेत निकै सकस हुने गरेको छ । सडक किनारबाट पैदलयात्रा गर्न समेत नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयहरु वजार सम्म आवात जावत गर्न समेत समस्या हुने गरेको छ । त्यसै गरी बिद्यार्थीहरु सडक छेउबाट हिंडेर बिद्यालय जान र घर फर्कन पनि निकै समस्या हुने गरेको छ ।
राजमार्गको माथि तिर खुलेका अधिकांश ग्रामीण सडकका कारण गाउँ गाउँदेखि बगेर आउने माटो राजमार्गमा थुप्रिएर पटक पटक सडक अवरुद्ध हुने गरेको भएपनि वाताबरणिय प्रभावको समेत कुनै वास्ता नगरी जथाभावी सडक निर्माण गर्न गाउँपालिकाले अनुमति मात्रै होइन लगानी समेत गर्दै आएको छ ।
सवारी आवागमन ठप्प भएपछि राजधानीबाट बाहिर निस्किएका र वाहिरी जिल्लाबाट राजधानी तर्फ जांदै गरेका सयौं सवारी साधन बिच सडकमा रोकिंदा यात्रुहरुको बिचल्ली भएको थियो । राती देखि परेको बर्षाका कारण यस क्षेत्रका खोल्सा र खोलामा पानी बढेका कारण खोला छेउका खेतहरुमा समेत क्षती पुगेको छ ।

तस्बिर :  रामशरण अधिकारी / महेशदोभान