चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान

1545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 चितवन – चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले बषौँसम्म नदेखिएका चरासमेत सो क्षेत्रमा पाइएको बताए । ‘सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमै महत्वपूर्ण मानिने चिसापानीगढीको संरक्षण गर्नु जरुरी छ’, डा बरालले भने ।

चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्र सिंराइचुली र उपरदाङगढीको बीचमा पर्छ । नेपालमा पाइने चरामध्ये गढीमा भेटिने ३८ प्रजातिका चरा विश्वकै महत्वपूर्ण र संरक्षित चरा मानिने जानकारी दिंदै उनले अहिले सो क्षेत्रलाई ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणा गर्नुपर्ने माग चरा विज्ञहरुले गर्दै आएका बताए । वर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा पक्षीविद् वासु बिँडारीले कहीँ नदेखिएका चरा देखिने सम्भावित क्षेत्र चिसापानीगढी रहेको बताए । काठमाडौँको फुलचोकीमा पाइने चरासमेत यहाँ भेटिन्छन् । करीव ७० वर्षसम्म हराएको सिम्रिककाने लियो सिचला भन्ने चरासमेत यहाँ भेटिएको छ । त्यसैले सो क्षेत्रमा चराको हव बनाउनुपर्ने बिँडारीको भनाइ थियो । यस्तै नेपालमा मात्रै पाइने काँडे भ्याकुरका विभिन्न प्रजातिको समेत महत्वपूर्ण वासस्थान यही क्षेत्रमा छ । मुख्यगरी पानीको पर्याप्तता र घना जंगल एवं शान्त वातावरणका कारण यहाँ चराको महत्वपूर्ण वासस्थान बनेको हो । चरा पर्यटनका हिसाबले समेत महत्वपूर्ण भएकाले यहाँ राम्ररी अनुगमन गर्ने हो भने अझ धेरै नयाँ प्रजातिका चरा पाइने दाबी उनको छ ।

यो क्षेत्रमा रुख काट्ने, खन्ने, डढेलो लगाउने, जथाभावी भौतिक संरचना, सडक निर्माण गर्नेजस्ता गतिविधि रोक्नसमेत चरा संरक्षणकर्मीले माग गरेका छन् । गढीकै फेदीमा पर्ने चितवनको कोलारमा रहेको चुनाखानीले चरालाई असर गर्ने भन्दै उनीहरुले खानी रोक्नसमेत माग गरेका छन् । चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको वासस्थानका दृष्टिले अति नै महत्वपूर्ण रहेको चिसापानीटार क्षेत्रलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गरे । नेपालमा ८८७ प्रजातिका चरामध्ये १६८ प्रजातिका चरा संकटापन्न अवस्थाका छन् । चितवनमा मात्रै ६३६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये करीव ३५० प्रजातिका चरा सो क्षेत्रमा पाइन्छ । विश्वमा ११ हजार प्रजातिका चरा रहेको तथ्यांक छ । (रासस)