गल्छी गाउँपालिकाको आगामी बर्षको निति तथा कार्यक्रम र वजेटका बिषयमा परामर्श

1498 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-धादिङको गल्छी गाउँपालिकाले आगामी आथिर्क बर्ष २०७५/७६ को लागि निति तथा कार्यक्रम र वजेटका बिषयमा सरोकारवालहरुसंग परामर्श गरेको छ ।
असार १ गते शुक्रवार गल्छी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्यबिक्रम पौडेलले गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान पु¥याउनु पर्ने महत्वपूर्ण बिषयहरुका वारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा रिम्स नेपालका कार्यक्रम अधिकृत झम्क खड्काले गाउँपालिकाले निति तथा कार्यक्रम तय गर्दा समेट्नु पर्ने आधारभूत बिषयहरुका वारेमा सहजीकरण गराउनु भएको थियो । कार्यक्रममा नेकपाका गल्छी संयोजक केदारनाथ खतिवडा, नेकपाका प्रतिनिधि रामशरण सेन्चुरी,नेपाली काँग्रेसका संयोजक गोपिप्रसाद रिमाल, राप्रपाका संयोजक प्रेमबहादुर अधिकारी लगायतले सम्बृद्ध गाउँपालिका निर्माणका लागि अबको निति तथा कार्यक्रम र वजेट तर्जुमा गर्नु पर्ने बिषयमा जोड दिएका थिए ।

गाउँपालिका भित्र कार्यरत विभिन्न सामाजिक संघ संस्था, बिद्यालयका शिक्षकहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु,महिला तथा वालवालिकाका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि,दलित जनजाती,आदिवासीका साथै गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा अबको बर्षमा गाउँपालिकाले नमूना कामहरु गरेर देखाउनु पर्नेमा सहभागीहरुले सुझाव दिएका थिए । बजेट, नीति तथा कार्यक्रममा  शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपालन,सडक निर्माण ,विकास पूर्वाधार,  कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षामा गुणस्तरीता, स्वास्थ्यमा सुधार, पर्यटकीय गुरुयोजना निर्माण,सूचना प्रविधिको विकास,धार्मिक स्थल, सास्कृतिक तथा पुरातात्विक महत्वका स्थानहरुको सम्बर्धन र विकास,खानेपानी सुविधाको विस्तार र,सुदृढीकरण र सरसफाई कार्यक्रम लगायतका क्षेत्रमा सरोकारवालाहरुको सुझाव र परामर्श अनुसार निति तथा कार्यक्रम वनाई वजेट तर्जुमा गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको थियो ।