असारको मध्यसम्म २२ प्रतिशत रोपाइँ

1323 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । यसवर्ष असारको मध्यसम्ममा नेपालभर कुल २२.७ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडमा सबैभन्दा बढी ३८.२१ प्रतिशत, मध्य पहाडमा २९.९ प्रतिशत र तराईमा १८.६५ प्रतिशत रोपाइँ भएको छ । असार १८ गतेसम्मको तथ्यांकअनुसार मध्यपश्चिमाञ्चलको उच्च पहाडमा सबैभन्दा बढी ८०.२२ प्रतिशत रोपाइँ भएको छ भने सुदूरपश्चिमाञ्चलको उच्च पहाडमा ५६.५५ प्रतिशत, मध्यमाञ्चलको उच्च पहाडमा २५.४० प्रतिशत, पूर्वाञ्चलको उच्च पहाडमा १९.७१ प्रतिशत रोपाइँ भएको छ ।

जसअन्तर्गत सुदूपश्चिमाञ्चलमा सबैभन्दा बढी ५०.२१ प्रतिशत रोपाइँ भएको छ भने मध्यपश्चिमाञ्चलमा २९.७२ प्रतिशत, पश्चिमाञ्चलमा २४.८४ प्रतिशत, मध्यमाञ्चलमा ११.६६ प्रतिशत, पूर्वाञ्चलमा १६.१९ प्रतिशत रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलको मध्यपहाडमा १९.७१ प्रतिशत, मध्यमाञ्चलको मध्यपहाडमा २३.९६ प्रतिशत, पश्चिमाञ्चलको मध्यपहाडमा २६.७६ प्रतिशत, मध्यपश्चिमाञ्चलको मध्यपहाडमा ३९.७६ प्रतिशत, सुदुरपश्चिमाञ्चलको मध्यपहाडमा ३६.८६ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै पूर्वाञ्चलको तराइमा १२.६१ प्रतिशत, मध्यमाञ्चलको तराईमा ७.३८ प्रतिशत, पश्चिमाञ्चलको तराईमा २३.५४ प्रतिशत, मध्यपश्चिमको तराईमा २३.९ प्रतिशत र सुुदूरपश्चिमको तराईमा ५४.३ प्रतिशत रोपाइँ भएको हिमालय टाईम्स दैनिकले खबर लेखेको छ ।

हालसम्म कुल ३ लाख ४२ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ भएको छ । उच्च पहाडमा २२ हजार २ सय २४ हेक्टर, मध्यपहाडमा १ लाख १६ हजार २ सय ८२ हेक्टर र तराईमा २ लाख ४ हजार १ सय २६ हेक्टरमा रोपाइँ भएको छ । नेपालमा कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान खेती हुने गरेको छ । गतवर्ष असार १३ गतेसम्म ९ प्रतिशतमात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा १८.४१ प्रतिशत रोपाइँ भएको थियो । गतवर्ष सोही अवधिमा तराईको धानको क्षेत्रफल १० लाख ७२ हजार सात सय ५६ हेक्टरमध्ये ४.५७ प्रतिशतका दरले ४८ हजार नौं सय ७९ हेक्टरमा रोपाइँ भएको थियो भने उच्च पहाडी क्षेत्रको धानको क्षेत्रफल ६३ हजार ६ सय ५१ हेक्टरमध्ये २१.१६ प्रतिशतका दरले १३ हजार चार सय ६५ हेक्टरमा धान रोपाइँ भएको थियो । मध्यपहाडी क्षेत्रको धानको क्षेत्रफल चार लाख १६ हजार ६१ हेक्टरमध्ये १८.५४ प्रतिशतको दरले ७७ हजार एक २० हेक्टरमा रोपाइँ भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा तराईमा १४.०३, मध्यपहाडी क्षेत्रमा २८.३२ र उच्च पहाडी क्षेत्रमा २७.५७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षको असार २७ गतेसम्ममा २.६५ प्रतिशत रोपाइँ भएको थियो । पूर्वाञ्चलको उच्च पहाडमा ३२.३५ प्रतिशत, मध्यपहाडमा ३४.७ प्रतिशत, तराईमा १९.५६ प्रतिशत गरी पूर्वाञ्चल विकास क्षेत्रमा कुल २३.६ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै, मध्यमाञ्चलको उच्च पहाडमा ५८.१३ प्रतिशत, मध्यपहाडमा ५४.६८ प्रतिशत र तराईमा ३५.२३ प्रतिशत गरी मध्यमाञ्चल विकास क्षेत्रमा कुल ४०.३१ प्रतिशत रोपाइँ भएको थियो । पश्चिमाञ्चलको उच्चपहाडमा भने रोपाइँ भएको थियो । तर मध्यपहाडमा ४६.७२ प्रतिशत र तराईमा ४५.२१ प्रतिशत गरी पश्चिमाञ्चल विकास क्षेत्रमा कुल ४५.८२ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै मध्यपश्चिमाञ्चलको उच्च पहाडमा ८७.४१ प्रतिशत, मध्य पहाडमा ५७.८२ प्रतिशत, तराईमा ४१.७० प्रतिशत गरी मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कुल ४७.७३ प्रतिशत रोपाइँ भएको थियो । त्यसैगरी सुदूरपश्चिमाञ्चलको उच्चपहाडमा ८१.४६ प्रतिशत, मध्यपहाडमा ८६.४० प्रतिशत तराईमा ८८.२३ प्रतिशत गरी सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा कुल ८७.२३ प्रतिशत रोपाइँ भएको थियो ।

उच्च पहाडी क्षेत्रमा कुल ५९.८ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ५१.१६ प्रतिशत र तराईमा ३८.६७ प्रतिशत गरी नेपालभरमा ४२.६५ प्रतिशत रोपाइँ भएको थियो । र गतवर्ष प्रतिकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन १.५ प्रतिशतले घटेर ५१ लाख ५२ हजार मेट्रिकटनमा खुम्चिन पुगेको थियो तर उत्पादकत्व भने ४.१ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर ३.५ मेट्रिकटन पुगेको थियो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा बढी ५२ लाख ३० हजार मेट्रिकटन उत्पादन भएको थियो ।

कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलका अनुसार खेतीयोग्य कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धानखेती गरिन्छ ।

पाँच कृषकलाई आज राष्ट्रपति पुरस्कार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार विभिन्न विधाका पाँचजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जसअन्तर्गत केरा खेतीतर्फ टीकापुर १ कैलालीका रामबहादुर कुँवर, माछापालनतर्फ धनुुषाका पौवालाल मुखिया, च्याउखेतीतर्फ खजुरा २ बाँकेका लालबहादुर सुुनुवार, बाख्रापानतर्फ, भरतपुर महानगरपालिका–२३ चितवनका योगेन्द्रबहादुर खड्काले उत्कृष्ट पुरस्कार र गाई पालनतर्फ पालुङटार नगरपालिका–७ गोरखाका राजेन्द्र पन्तले सर्वोत्कृष्ट पुरस्कार पाउने भएका छन् । कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्दै किसानलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ सरकारले हरेक वर्ष विभिन्न विधाका पाँचजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ ।