गल्छी गाउँपालिकाका पदाधिकारीहरु माथि धम्की-सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा निवदेन

1685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–नदीको बालु्वा झिक्ने बिषयमा गाउँपालिका र स्थानीयबिच सहमती हुन नसक्दा गल्छी गाउँपालिकाका पदाधिकारीहरु माथि धम्की आएको छ ।

गाउँपालिकाले प्रयोग गरेको बाटो भन्दा अर्को बाटो गाउँपालिकालाई फाइदा पुग्ने गरि खनेमा गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सीनासहित अन्य पदाधिकारीहरुलाई  ज्यान मार्ने धम्की दिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बालुवा व्यवसायको नाममा अवैधानिक तरिकाले व्यवसाय संचालन गर्ने र गाउँपालिकाले निर्धारण गरेको नीति भित्र बसेर काम गर्दा नाफा कम हुने भएकाले उनीहरुले गाउँपालिकाले नियमन गर्न खोज्दा पटक पटक अवरोध पुर्याउँदै आइरहेका छन् ।

उनीहरु अहिले आफूखुशी वालुवा निकासी गर्ने र करसमेत नतिरी व्यवसाय गर्दै आइरहेका छन् ।

गाउँपालिका पदाधिकारीमाथि धम्की दिने र दुव्र्यवहार गर्ने गल्छी गाउँपालिका वडा नम्बर ४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र अर्जुनलाल श्रेष्ठसमेतलाई कारवाही गर्न माग गर्दै गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ ।

उनीहरुले गाउँपालिकाको एक्साभेटर जलाउने, गाउँपालिका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिएकोले सुरक्षाको माग गर्दै निवेदन दिएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले बताउनुभयो ।

गल्छी गाउँपालिकाबाट जनप्रतिनिधिहरुलाई धम्की दिनेलाई कारवाही गर्न र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाको बोर्ड बैठकको निर्णय सहितको निवेदन परेकोले आवश्यक कारवाहीका लागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो ।