सेर्तुङमा लेकमा रहेको गोठ गएका बाबुछोरा दुई साता देखि बेपत्ता

2458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , ९ साउन – लेकमा रहेको गोठमा गएका बाबुछोरा दुई साता देखि परिवार र गाउँले संग सम्पर्क विहिन भएपछि धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ बर्खाप टोलका वासिन्दा चिन्तित भएका छन ।
साविकको सेर्तुङ गाविस वडा नं ६ मा पर्ने बर्खाप टोलका बाबुछोरा १५ दिन अघिदेखि घरबाट गोठ तर्फ गएकोमा बिचबाटै बेपत्ता भएका हुन । गाउँभन्दा ६ घण्टा माथिको घोच्ची लेकमा रहेको गोठमा गाईवस्तु स्याहार सुसार गर्नका लागि गएका थार लामा तामाङ र उनका ९ वर्षीय छोरा आकाश तामाङ १५ दिनअघिदेखि हराईरहेका छन् ।
श्रीमान र छोरा बेपत्ता भएपछि थार लामाकी श्रीमती तर्चिमाया तामाङ अर्धवेहोस बनेको गाउँलेहरुले वताएका छन् । हराईरहेका बाबुछोराको खोजीको लागि सेर्तुङस्थित प्रहरी चौकी र वडा कार्यालयमा परिवारले अनुरोध गरेको रुवीभ्याली गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष कामिलाल तामाङले जानकारी दिएका छन् । घरको मुली नै हराएपछि तामाङ परिवारमा समस्यामा परेकोले उनिहरुको खोजीका लागि गाउँवासी सबैजना मिलेर खोजी गरिरहेको पनि वडाअध्यक्ष तामाङले वताए ।
घरबाट गोठ गएको ४÷५ दिनसम्मपनि घर नफर्किएपछि उनिहरुको खोजिका लागि गाउँलेहरु गाईगोठसम्म पुगेर फर्किए पनि फेला नपरेको घलेले बताए । ‘बेपत्ता भएको १५ दिन भइसक्दा समेत घर नफर्किएपछि गाउँले २० जनाको टोली लेक तर्फ परिचालन गरेर तामाङ बाबुछोराको खोजि गरिरहेको वताएका छन् । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्म थलो रुवीभ्याली गाउँपालिकामा पर्ने साविकको सेर्तुङ गाउँ विकास समितिमा अहिलेसम्म मोटरबाटो पुगेको छैन । सेर्तुङ पुग्नका लागि सदरमुकाम धादिङवेशीबाट ३ दिन पैदल यात्रा गर्नुपर्दछ । गर्मि मौसममा भेडा, च्याङग्रा र चौरीगाईलाई लेकको गोठ तिर लगेर छाड्ने गरिन्छ भने चिसो मौसममा वेसी तर्फ ल्याईने गरिन्छ । गोठहरु सामुहिक रुपमा बनाईने हुंदा गाउँलेहरु पालो लगाएर गोठ जाने र घर फर्कने गर्दछन ।