कुरिनटारमा ट्रमा सेन्टर सञ्चालन

674 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन– पृथ्वी राजमार्गअन्तर्गत बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा सुविधा सम्पन्न ट्रमा सेन्टर सञ्चालनमा आएको छ।

राजमार्गमा दुर्घटनमा परी घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा ट्रमा सेन्टरको स्थापना गरिएको हो।

अमेरिकी सहयोगमा निर्माण भएको ट्रमा सेन्टर अमेरिकी दूतावासले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारलाई बिहीबार हस्तान्तरण गरेको छ।

२४ शय्याको पृथ्वी हाइवे ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परी घाइतेहरुले तत्काल उपचार पाउने सशस्त्रका एसएसपी प्रजाभक्त श्रेष्ठले बताए। २४सै घन्टा इमरजेन्सी सेवा दिइने ट्रमा सेन्टरमा भविष्यमा थप सेवा विस्तार गर्दै लैजाने श्रेष्ठले बताए।

‘दुर्घटनापछि सहज उपचार नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन्,’ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले भनिन्, ‘ट्रमा सेन्टर सञ्चालनमा आएकाले अब दुर्घटनामा परेकाले तत्कालै उद्धारसँगै उपचार सेवा पाउनेछन्।’

यसअघि दुर्घटना हुदाँ घाइतेलाई थप उपचारका लागि चितवनको भरतपुर वा काठमाडौं लैजानुपर्ने वाध्यता थियो। चितवनको नारायणगढ–मौवा खोला सडक अति दुर्घटनाग्रस्त क्षेत्रमा पर्छ। यहाँका करिब ३८ स्थान दुर्घटनाको उच्च जोखिममा रहेको चितवन प्रहरीले जनाएको छ।