राजधानी तात्यो गजलको वर्षाले

989 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साउने झरीले काठमाडौँलाई चिस्याइरहेको बेला चर्चित गजलकारहरुको गजलले साहित्यिक माहौल तताइरहेको थियो । शनिबार आयोजित कार्यक्रम “शाब्दिक समारम्भ” मा एक पृथक साहित्यिक चहलपहल बन्यो । गजल विशेष कार्यक्रममा वर्तमान समयका सशक्त गजलकार विपिन मर्मका उत्कृष्ट गजलहरुले दर्शकहरुको मन छोएको दर्शकहरुको प्रतिक्रिया बाट प्रष्ट झल्किन्थ्यो ।

 

केही आस्था हुनु पर्छ, अनि केही आधार पनि

सबै ढुङ्गा सुन्दर मूर्ति कुँदिनका लागि हुन्नन्

 

बाले खर्च भर्नै छाडे, जागिर खा पो भन्छन्,

प्रमाणपत्र सक्कली भो, मारमा छु म साथी

 

आक्षरिक लयमा आफ्ना भावलाई निकै कलात्मक तरिकाले बुन्न माहिर मर्मले प्रणयशील, पारिवारिक तथा सामाजिक यथार्थता, राजनैतिक विसङ्गति, आपराधिक मनोवृति लगायत भावले भरिएका गजलहरु प्रस्तुत गरेका थिए ।

 

हरेक दिन अन्तिम चिट्ठी लेखुँ लेखुँ लाग्छ, आमा

थाहा छैन, हिँड्ने यो ज्यान कतिखेर थाक्छ, आमा

 

आफ्नो ज्यानलाई दाउमा राखेर घरपरिवारको खुसीको लागि नङ्ग्रा घोट्ने परदेशी नेपालीहरुलाई समर्पित मर्मका यस गजलले दर्शकहरुलाई निकै भावुक बनायो । ‘मनको शल्यक्रिया’ गजल सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मर्मका सबै गजलहरु आक्षरिक लयमा बुनिएका थिए ।

 

यस्तै कार्यक्रममा अर्का युवा गजलकार इश्वर दाहालले पनि आफ्ना उत्कृष्ट गजलहरु वाचन गरेका थिए । देश, समाज, प्रेम अनि व्यक्तिगत जीवनमा घटित विषयवस्तुहरुको उठान दाहालले आफ्ना मिठा गजलहरु मार्फत् गरेका थिए । कार्यक्रम हातेमालो साहित्य सङ्गमको आयोजनामा गरेको थियो ।