धादिङबाट निर्वाचित पहिलो सांसद भरत सम्शेर राणको निधन

2988 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २६ साउन – धादिङ जिल्लाबाट निर्वाचित पहिलो सांसद भरत सम्शेर राणको ८९ बर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको ८९ वर्षको उमेरमा निधन भएको  राणाका भतिज नेपाली काँग्रेसका नेता उदय समशेर  राणाले बताए । राणाको कलकत्तास्थित निवासमा शनिबार बिहान निधन भएको हो। शुक्रबार रातिसम्म सक्रिय रहेको र खाना खाएका राणाको शनिबार बिहान निधन भएको हो।२०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो । ०१५ सालमा नेपालमा पहिलोपटक भएको संसद्को निर्वाचनमा उनको पार्टी गोर्खा परिषद्ले १९ सिट ल्याउँदै प्रमुख प्रतिपक्षी दल बनेको थियो । १०९ सिटका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइभन्दा बढी ७४ सिट ल्याएको थियो । पहिलो संसदमा राणा प्रमुख प्रतिपक्षी नेता थिए।उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरका पनाति र शिक्षा विद् मृगेन्द्र शमशेर राणाका छोरा हुन् ।

प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट उनले विजय हासिल गरेका थिए। गोर्खा परिषद्का महामन्त्री रहेका राणाले राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदमपछि आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएर भारत गएका थिए ।

कलकत्तामा रहँदा राणाले थुप्रै बंगाली चलचित्रहरु पनि निर्माण गरेका थिए। नेता राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन्। पहिलो आम निर्वाचनमा नेपालभरी १०९ निर्वाचन क्षेत्र कायम गरिएको थियो भने ९ वटा दलका ७ सय ८६ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । देशभर कुल मतदाता ४२ लाख ४६ हजार ४ सय ६८ रहेको सो निर्वाचनमा १७ लाख ९१ हजार ३ सय ८२ मत  खसेको थियो ।