नागढुंगा–नौबिसे सुरुङ मार्गकाे काम अघि बढ्यो

3015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक सूचि छनौट हुनेछ । प्रारम्भिक चरणमा आर्थिक प्रस्ताव खोलिनेछ ।

उत्कृष्ठ प्राबिधिक प्रस्ताव र न्युनतम लागतमा नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको प्रस्ताव गर्ने कम्पनीले कामको जिम्मेवारी पाउने छ । ‘हामीले साउन २४ गते ग्लोबल टेण्डर निकालेका छौं, ६० दिनको आवेदन गर्ने समयसिमा छ, सन २०१९ को जनवरीदेखि ठेकेदार परिचालन गर्ने योजना छ’, आयोजनाका इञ्जिनियर छविलाल पौडेलले भने । ठेकेदार परिचालन भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने योजना आयोजनाले बनाएको विकास न्यूज डट कमले खबर लेखेको छ ।

आयोजनाले गत बर्ष ७० करोड मुआब्जा बाढेको थियो भने यसपाली ९० करोड रकम विनियोजन गरेको छ । ती दुबै ठाउँको जमिन अधिग्रहण भने सरकारले आफ्नै श्रोतबाट गरिरहेको छ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ ।  सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ ।नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५/३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ । सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकिएको छ ।

सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।