गजुरी गाउँपालिकाबाट १० प्रकारका सेवा निशुल्क

2430 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी-स्थानीय तहमा लगाईएको करका बिषयमा सर्वत्र चासो र आलोचना बढिरहेको बेला धादिङको गजुरी गाउँपालिकाले कार्यालयबाट प्रवाह हुने १० प्रकारका सिफारिस निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने आधारभूत सेवाहरु निःशुल्क  गर्ने गजुरी गाउँपालिका पहिलो भएको छ । धादिङमा ११ गाउँपालिका र २ नगरपालिका रहेको छ ।
गजुरी गाउँपालिकाले २०७५ भदौ ४ गते सूचना प्रकाशित गर्दै गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को आर्थिक ऐन २०७५ मा व्यवस्था भए वमोजिम गाउँपालिकाबाट प्रवाह हुने १० प्रकारका सेवाहरु निःशुल्क प्रदान गर्ने घोषणा गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी प्राप्तिका लागि गरिने सिफारिश, जन्मदर्ता, विवाह दर्ता, बसाई सराई, सम्वन्ध विच्छेद,मृत्यु दर्ता लगायतका घटना दर्ताहरु अब निःशुल्क रुपमा दर्ता हुने  छ ।
त्यसैगरी ज्येष्ठ नागरिक,अपाङ्गता, दिर्घरोगी,असहाय र गरिब जनताको लागि गरिने स्वास्थ्य सम्वन्धि विभिन्न सिफारिस, छात्रवृत्ती प्राप्तिका लागि सिफारिस,मृतक संगको नाता प्रमाणित, अपाङ्गता,आर्थिक अवस्था कमजोर,अदालती प्रकृयाका लागि शुल्क मिनाह, नावालक तथा प्राकृतिक प्रकोपबाट क्षती भएको घर पाताल सम्वन्धी सिफारिसहरु अब सेवाग्राहीले निःशुल्क पाउने गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले जानकारी दिनु भयो । गाउँपालिकाको पछिल्लो निर्णय आम नागरिकलाई जानकारी दिन गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले आफ्नो फेसबुक वालमा गाउँपालिकाको सूचना राखेर ‘सबैले देख्छन कर मात्र लाको , कस्ले देख्छ यति धेरै छुट भाको ‘लेख्नु भएको छ । उपाध्यक्षको उक्त भनाई प्रति सरोकारवालाहरुले सकारात्मक सुझाव समेत दिएका छन ।