नौबिसे–नागढुङ्गाको जाम कम गर्न वैकल्पिक मार्ग सञ्चालन गरिने

1450 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धार्के (धादिङ)– नियमित रुपमा हजारौं यात्रुहरुलाई सास्ती दिने नौबिसे –नागढुङ्गा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक सडक सञ्चालनको तयारी गरिएको छ । नेपालीहरुको महान पर्व दशै अगाडि राजधानी बाहिरिने देशभरका लाखौं यात्रुहरुलाई घण्टौं सवारीजामको सास्तीलाई न्युनिकरण गर्न तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो । उक्त विकल्पका रुपमा सबै भन्दा सहज हाल  निर्माणाधीन अवस्थामा रहेको धार्के–ठूलोखोला–भिमढुङ्गा–सीतापाईला सडकखण्ड तत्काल सञ्चालनमा ल्याईने तयारी अघि बढेको छ ।  उक्त सडक धार्के देखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यस पछि भिमढुङ्गा हुँदै काठमाडौं सीतापाईला सम्म १० किलोमिटर निर्माणाधीन छ । यो सडक १२ मिटर चौडा गरी चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिई सकिएको छ । वैकल्पिक सडकमा साना सवारी सञ्चालन गर्न र नौबिसे नागढुङ्गा सडकमा सवारी सञ्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्ने गरी सरोकारवालाहरु भेला भई सडकको निरीक्षण गरी तत्काल वैकल्पिक मार्ग खोल्न छलफल गरिएको हो । छलफलमा पूर्व मन्त्री तथा धादिङ क्षेत्र नम्बर १ का सांसद राजेन्द्र पाण्डेले नौबिसे नागढुङ्गा सडक भास्सिएको तथा खाल्डाखुल्डीलाई तत्काल पुर्न सडक कार्यालयले प्रहरीसंग समन्वय गरेर तत्काल काम गर्नुपर्ने बताउनुभयो । वैकल्पिक सडकको रुपमा रहेको धार्के सीतापाईला सडकमा साना सवारी सञ्चालन गर्नका लागि आईपर्ने समस्या, आवश्यक मर्मत तथा समन्वय गर्न स्थानीय प्रशाासन लगायत सरोकारवालासंग छलफल गरेका छन् । सांसद पाण्डेले सवारी जामको समस्या धादिङको नागरिकका लागि मात्र नभई देशकै लाखौं यात्रुहरुको समस्या भएकाले देशकै लागि काम गरिरहेको बताउनुभयो ।

सडक निरीक्षण पछिको छलफल कार्यक्रममा बोल्दै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले वैकल्पिक सडकको रुपमा रहेको धार्के सीतापाईलामा निर्माणाधीन सडकमा गाडी सञ्चालन गर्दा नियमित रुपमा पानी छर्कने व्यवस्था गरिनुपर्ने बताउनुभयो । नौबिसे नागढुङ्गा सडकको मर्मतको लागि सडक कार्यालय, मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसंग समन्वय गरिने उहाँले बताउनुभयो ।  अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सडक जामको समस्या कम गर्न आफनो तर्फबाट कुनै काम बाँकी नराख्ने बताउनुभयो । यस्तै जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विकले सडक जामको समस्या कम गर्न मापदण्ड विपरीत बढी भार बोकेका र लामो सवारी साधनलाई धार्के आई नपुग्दै दिनभर धादिङका विभिन्न स्थानमा रोकिने र राति १० बजे पछि मात्रै सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको बताउनुभयो । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हेमराज घिमिरेले सडकमा सवारी साधनको चापको समस्यालाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापन भईरहेको बताउनुभयो । यस्तै डिभिजन सडक कार्यालय धादिङका प्रमुख हरि ठकुरीले सवारी चापका कारण दैनिक हजारौ यात्रुहरुले सास्ती पाईरहेको यो अवस्थामा सवारी जाम कम गर्न र वैकल्पिक सडकमा साना सवारी साधन सञ्चालनका लागि सडकमा काम गरिहेका विभिन्न कम्पनीहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । गत हप्ता देखि लगातारको सवारी जामले यातायात सञ्चालन गर्न प्रहरी रातदिन खटिरहेको छ । विभिन्न जिल्ला लगायत भारतबाट पनि आउने यात्रु र भारत हुँदै तेस्रोमुलुकबाट आयात गरिने व्यापारिक सामाग्रीहरु राजधानी भित्रिने एकमात्र नाका नौबिसे नागढुङ्गानै हो । ‘सवारी जामका कारण सानातिना दुर्घटना र सामान्य उजुरी समेत हेर्न भ्याईएको छैन’ खानीखोलास्थित ईलाका प्रहरी कार्यालय ईन्चार्ज उद्धव पोखरेलले बताउनुभयो ।   चाडवाड नजिकिंदै गर्दा काठमाडौं आयात गरिने दैनिक २ हजार मालबाहक ट्रक भित्रिने गरेका छन् । यस मध्य ७ सय जति भारतीय ठूला ट्रकहरु आउने गरेका छन् ।
– हरिहरसिंह राठौर/इकान्तिपुर