गल्छीमा रोकिएन पहिरो, राजमार्गमा आवागमनमा अवरोध

1294 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिका वडा नम्बर ७ को गल्छीवजार भन्दा माथिको उकालो स्थित पृथ्वीराजमार्गमा केही समय यता रातो माटो खस्नेक्रम नरोकिंदा राजमार्गमा आवागमन ठप्प हुने गरेको छ ।
सडक भन्दा माथिको भागबाट निरन्तर लेदो रातोमाटो खस्न नरोकिएपछि राजमार्गमा सवारी आवागमनमा अवरोध हुने गरेको हो । भदौ महिनाको शुरुवात देखिनै लेदो पहिरो खस्न थालेको हो, पहिरो खस्न थालेपछि दिनहुँ जस्तो राजमार्गमा आवागमन ठप्प हुने गरेको छ । पहिरो खसेको ठाउँमा मुल फुटेर पानी निस्किएपछि पहिरो व्यवस्थापनमा समेत कठिनाई भएको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हरि खतिवडाले वताउनु भयो ।
देशका ६७ जिल्लालाई राजधानी संग जोड्ने र प्रमुख पर्यटकीय क्षेत्रहरुमा जानका लागि प्रयोग हुने मुख्य सडक भएका कारण पृथ्वीराजमार्गमा सवारी आवागमनको २४ घण्टा निकै चाप हुने गर्दछ । दिनुहँ ६ हजार भन्दा धेरै सवारी गुड्ने सडकमा एकै छिन अवरोध हुंदा पनि त्यस्को प्रभाव निकै पर्ने गर्दछ ।

राजमार्गमा अवरोध भएपछि स्थानीय जनप्रतिनिधि, सडक विभाग र प्रहरीलाई संधैभरीको टाउको दुखाईको बिषय वन्न पुगेको छ । कतिखेर पहिरो खस्छ भन्ने ठेगान नभएको स्थानीय वताउँछन । यस अघि कहिल्यै यसरी पहिरो नखसकेको र पानीको कुनै श्रोत नदेखिएको ठाउँमा मुल फुटेपछि पहिरो नियन्त्रणमा समस्या थपिएको वडा अध्यक्ष खतिवडाले वताउनु भयो ।

रातो माटो सडकमा खस्दा त्यस्मा चिप्लिएर दिनहुँ जस्तो मोटरसाईकल पल्टिने गरेको स्थानीय चन्द्रप्रसाद खतिवडा बताउनुहुन्छ । ठुला सवारी साधन भन्दा मोटर साईकललाई भने रातो माटोले निकै असर पार्ने गरेको उहाँको भनाई छ ।

तस्बिर : सन्तोष अधिकारीको फेसबुकवालबाट

(अधिकारी नेपाल पत्रकार महासंघ धादिङका सदस्य हुन ।)