नपढाउने शिक्षकको नाम अब वेबसाइटमा

729 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सूर्यप्रसाद पाण्डे
काठमाडौं : विद्यालय तहको पढाइको स्तर घट्नुमा शिक्षकको कमजोरी रहेको गुनासो बढेपछि सरकारले सबै जिल्लाका पढाइमा उत्कृष्ट र कमजोर शिक्षकको नाम सार्वजनिक गर्ने भएको छ। शिक्षकलाई पेसाप्रति बढी जिम्मेवार बनाउन उनीहरूको नाम सार्वजनिक गर्न लागिएको शिक्षा विभागले जनाएको छ।

यो अभियानले शिक्षकमा रहेका मुख्य कमजोरी पहिचान गरेर उनीहरूलाई भविष्यमा पठनपाठनमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा विभागले गरेको छ। यो कार्यक्रमअन्तर्गत सार्वजनिक विद्यालयका शिक्षकको मात्र नाम सार्वजनिक गर्न लागिएको पनि विभागले स्पष्ट पारेको छ।

जिल्लामा रहेका उत्कृष्ट र कमजोर शिक्षकको नाम केन्द्रमा पठाउन विभागले क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई समेत निर्देशन दिएको छ। यसरी प्राप्त शिक्षकको नाम विभागले आफ्नो र जिल्ला शिक्षा कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नेछ। विभागका निर्देशक टेकनारायण पाण्डेले साउनसम्ममा त्यस्ता सबै शिक्षकको नामावली संकलन हुने बताए। उनले भने, ‘साउनको अन्तिम सातासम्ममा सार्वजनिक गरिसक्ने योजना छ।’

पाण्डेका अनुसार जिल्लामा रहेको विद्यार्थीको औसत उत्तीर्ण दरलाई आधार मानेर त्यस्ता शिक्षक छनोट गरिनेछ। उनले भने, ‘सबै तह र विषयगत शिक्षकको नाम सार्वजनिक गरिनेछ। यसरी नाम सार्वजनिक भएपछि शिक्षकले गुणस्तर सुधार्ने प्रयास गर्ने विभागको विश्वास छ।’ यसअन्तर्गत सबै जिशिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हुने बढीमा तहगत र विषयगत रूपमा २० जना र कमजोर शैक्षिक उपलब्धि हुने ५० जना शिक्षकको नामावली क्षेत्र तथा विभागमा पेस गर्नु पर्नेछ।

शैक्षिक गुणस्तर खस्किनुमा मुख्य शिक्षक जिम्मेवार भएको ठहर गर्दै विभागले यसअघि पनि शिक्षकलाई पेसाप्रति जिम्मेवार बनाउन भन्दै राजनीतिक दलको सदस्यता लिन नपाउने, कुनै पनि गैरसरकारी संस्थामा आबद्ध हुन नपाउने तथा पत्रकारितालगायत अन्य पेसागत संगठनमा समेत आबद्ध हुन नपाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि विभागले क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ।

क्षेशिनिलाई पाँचबुँदे निर्देशन

सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि क्षेशिनिलाई प्रभावकारी बनाउन शिक्षा विभागले पाँचबुँदे निर्देशन दिएको छ। निर्देशनमा विद्यालयमा कार्यरत शिक्षकलाई सक्रिय बनाउन क्षेशिनिले निर्वाह गर्नुपर्ने भूमिकामा जोड दिइएको छ।

विभागले दिएको निर्देशनअनुसार प्रत्येक विद्यालयले एसएलसी परीक्षाको उत्तीर्ण दरलगायत विद्यालय तहको समग्र शैक्षिक उपलब्धि मूल्यांकन गरी अर्को वर्षको शैक्षिक स्तर उकास्न बनाएका योजना क्षेशिनिमार्फत विभागमा पेस गर्नुपर्ने छ। यसरी योजना बनाउँदा चालू शैक्षिक सत्रको अन्त्यमा कक्षागत, विषयगत, शिक्षकगत, तहगत र सिंगो विद्यालयको उपलब्धिको लक्ष्य निर्धारण गर्नुपर्नेछ।

जिल्लामा कार्यरत सबै शिक्षकको शैक्षिक उपलब्धि (कक्षागत र विषयगत) अभिलेख स्रोतकेन्द्र र जिशिकामा राख्ने तथा उत्कृष्ट शैक्षिक उपलब्धि भएका शिक्षकलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्न र कमजोर शैक्षिक उपलब्धि रहेका शिक्षकलाई उपलब्धिको स्तरअनुसार कारबाहीप्रक्रिया अघि बढाउन पनि निर्देशन दिइएको छ।

निर्देशनअनुसार उत्कृष्ट तथा कमजोर शिक्षकको अलगअलग विवरण तथा सम्पूर्ण शिक्षकको शैक्षिक उपलब्धिसहितको विवरण जिशिकाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। क्षेशिनिले पनि जिल्लागत रूपमा तहगत र विषयगत उत्कृष्ट तथा कमजोर शिक्षकको विवरण वेबसाइटमा राख्नुपर्नेछ।

(अन्नपूर्ण पोस्ट दैनिकबाट)