काठमाडौं–मुग्लिन सडक : त्रिशूलीपारि पनि २ लेन बनाइने

3216 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-नागढुंगा–नौबिसे सुरुङ मार्गसँगै त्रिशूलीपारिबाट सडक सञ्चालनमा ल्याउने लक्ष्य
-त्रिशूलीपारिबाट दुई खण्डमा तत्काल २६ किलोमिटर,
डिटेल डिजाइन बनिसक्यो
-आयोजनामा ३५ देखि ४० अर्ब रुपैयाँ लगानी हुने अनुमान, विश्व बैंकले ऋण सहयोग दिने
-नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण ठेक्का ३ महिनाभित्रै, ३५ कम्पनीले लगे बोलपत्र फारम

काठमाडौं|-सरकारले नागढुंगा–मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ । सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको हो । हाल दैनिक १८ हजारसम्म गाडी गुड्ने यो सडकमा सन् २०२२ सम्ममा २५ हजार गाडी गुड्ने अनुमान छ ।

‘पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप धान्न सो सडकलाई ४ लेनको नबनाई हुँदैन,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने, ‘सडक मर्मत गरेर सवारीको गति प्रतिघन्टा १५ किलोमिटरसम्म मात्र पु-याउन सकिने देखियो ।’ उद्गमबाट आएको समयभन्दा बढी समय सवारीसाधन मुग्लिन–नागढुंगाको जाममा पर्ने गरेकाले यो सडक ४ लेनमा विस्तार गर्नुको विकल्प नरहेको उनले बताए ।

त्रिशूलीपारि दुई खण्डमा तत्काल २६ किलोमिटर सडक
श्रेष्ठका अनुसार सडक विभागले त्रिशूली नदीको पारि किनारबाट हाल दुई खण्डमा गरी २६ किलोमिटर सडक विस्तार गर्न लागेको छ । यसअन्तर्गत तत्काल सिस्नेखोला–धार्के ११ किलोमिटर र विशालटार–फिस्लिङ १५ किलोमिटर सडक निर्माण गर्ने योजना अघि बढाएको छ । ‘भविष्यमा ४ लेनमा विस्तार गर्न त्रिशूलीपारि किनारैकिनार नौबिसेदेखि मुग्लिनसम्म नै सडक विस्तार गर्ने अवधारणा छ,’ श्रेष्ठले भने ।

बनिसक्यो डिटेल डिजाइन
यो सडक निर्माणका लागि सडक विभागले विश्व बैंकको सहयोगमा डिटेल डिजाइन प्रतिवेदन तयार पारिसकेको छ । त्रिशूलीपारिबाट दुई खण्डमा विस्तार हुने सडक निर्माण गर्दा सकेसम्म कम पहाड भत्काउने र सम्भव भएका ठाउँमा तलबाट पर्खाल उठाएर सडक निर्माण गर्ने प्रविधि अपनाइने भएको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

हाल सञ्चालनमा रहेको त्रिशूलीवारिको सडकलाई समेत विस्तार, मर्मत र सडक सुरक्षा वृद्धि गर्ने योजनाको डिजाइन तयार पारिएको छ । यसअनुसार हाल चलिरहेको सडकका ३१ ठाउँमा ‘क्लाइम्बिङ लेन’ विस्तार गर्ने, बाक्लो वस्ती भएका करिब १५ ठाउँमा आकासे पुल निर्माण, सडक किनारमा नाला निर्माण र वस्ती भएका ठाउँमा ४ लेनमा विस्तार गरिने डिजाइन छ । त्यस्तै, केही ठाउँमा सवारीसाधन(बस÷ट्रक) राख्न मिल्ने बिसौनीसमेत निर्माण गरिने डिजाइन छ ।

‘त्रिशूलीपारि किनारबाट समेत दुई लेनमा पूरै सडक विस्तार गसिसकेपछि पोखरातर्फबाट काठमाडौं आउने सवारी पारिबाट आउने र काठमाडौंबाट बाहिरिने सवारी वारिबाट जाने व्यवस्था गर्ने अवधारणा छ,’ उनले भने । यसबाट विपरीत दिशाका सवारी ठोक्किएर दुर्घटना हुने समस्याको समेत अन्य हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकले ऋण सहयोग दिने
सडकको डिटेल डिजाइनका लागि सघाएको विश्व बैंकले नै आयोजनामा सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । सरकारले विश्व बैंकसँग छलफल गरिरहेको श्रेष्ठले बताए । आयोजनामा ३५ देखि ४० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । विश्व बैंकसँग ऋण सम्झौता पूरा हुनासाथ आयोजना निर्माणका लागि बोलपत्र आह्वान गर्ने विभागको तयारी छ । नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माण पूरा हुने समय (सन् २०२२)सम्ममा यो सडक सञ्चालनमा ल्याउन सकिने विभागको अपेक्षा छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण ठेक्का ३ महिनाभित्र, ३५ कम्पनीले लगे बोलपत्र फारम
जापान सरकारको सहुलियत ऋण सहयोगमा अघि बढाइएको नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि ३ महिनाभित्रै ठेक्का सम्झौता भइसक्ने सडक विभागले जानकारी दिएको छ । सुरुङमार्ग आयोजनाअन्तर्गत सबै किसिमका भौतिक पूर्वाधार निर्माणका लागि प्याकेजमै ठेक्का आह्वान गरिएको हो । ठेक्का प्रक्रियामा सहभागी हुन ३५ कम्पनीले बोलपत्र फारम किनेर लगेको विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले बताए ।

बोलपत्र फारम लाने कम्पनीमध्ये अधिकांश चिनियाँ छन् । भारतीय, कोरियन, जापानिज, युरोपियन र नेपाली ठेकेदारले पनि बोलपत्र खरिद गरेको उनले बताए । १० अगस्टमा आह्वान गरेको बोलपत्र बुझाउने अन्तिम म्याद १० अक्टोबरसम्म छ । १० सेप्टेम्बरमा विभागले इच्छुक ठेकेदार कम्पनीहरूलाई ‘प्री बिड मिटिङ’मा बोलाएको छ ।

के–के बन्ने छन् सुरुङमार्ग आयोजनामा ?
सुरुङमार्ग आयोजनाअन्तर्गत २.६८ किलोमिटर सुरुङमार्ग निर्माण गरिने छ । त्यसअन्तर्गत ३ किलोमिटर प्रवेश मार्ग, एउटा फ्लाइओभर, दुईवटा पुल, केही कल्भर्ट, दुवै किनारमा सर्भिस ट्र्याक बनाइनेछ । त्यस्तै, सुरुङमार्गको पश्चिम भाग (नौबिसे) क्षेत्रमा स्थानीय व्यवसायीले आफ्ना उत्पादन ल्याएर बेच्न सक्ने गरी व्यापारिक स्टलहरू, रिक्रियसेन सेन्टर, शौचालय र रेस्टुरेन्टहरूसमेतको विकास गरिने योजना छ । यी सबै निर्माण प्याकेजमै एउटै कम्पनीलाई दिने गरी बोलपत्र आह्वान गरिएको हो । सो सुरुङमार्गले ८ किलोमिटरको दूरीलाई २.६८ किलोमिटरमा छोट्याउँछ ।

स्थानीयका लागि खानेपानी आयोजना
सुरुङ निर्माण गर्दा प्राकृतिक पानीका स्रोतहरू सुक्ने भएकाले यही आयोजनामार्फत खानेपानी आयोजना पनि सञ्चालन गरिनेछ । यस आयोजनाअन्तर्गत जमिनमुनिबाट खानेपानी निकालेर पाइपमार्फत् वितरण गर्ने गरी योजना बनाइएको छ ।

४ अर्ब ७५ करोड मुआब्जा यो वर्षभित्रै बाँडिने
आयोजनाले काठमाडौंतर्फ २६७ रोपनी र धादिङतर्फ ६१ रोपनी गरी कुल ३२८ रोपनी जग्गा अघिग्रहण गर्नुपर्ने हुन्छ । त्यस्तै, काठमाडौंतर्फ २६ घर र धादिङतर्फका १८ घर विस्थापित हुनेछन् । आयोजनाले जग्गा अधिग्रहणका लागि ७० करोड रुपैयाँ बाँडिसकेको छ । दुई महिनाभित्र ९५ करोड रुपैयाँ वितरण गर्ने लक्ष्य राखेको छ भने थप ३ अर्ब ८० करोड रुपैयाँ यही आर्थिक वर्षभित्र बाँडिसक्ने लक्ष्य लिएको छ ।

जापानले सरकारको ०.०१ प्रतिशत ब्यादर(सहुलियतपूर्ण)को करिब १६ अर्ब रुपैयाँ (१६.५६ बिलियन जापानी यन) ऋण सहयोगमा आयोजना बन्न लागेको हो । आयोजनाको प्रारम्भिक डिजाइन निर्माणमा पनि जापानले नै सहयोग गरेको थियो । सुरुङमार्ग सन् २०२२ को सुरु (जनवरी)देखि सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।