आज हरितालिका तिज

2063 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


 हिन्दू महिलाहरूले आइतबार हरितालिका तिज मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व हिन्दू नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँने गर्छन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् भन्ने किंवदन्ती छ । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकी विश्वास गरिन्छ ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । हरितालिका (तिज)का सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरियो नभई हरण गरिएको हुन आउने धर्मशास्त्रविद्हरू बताउँछन् ।

सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका हुन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरूको मत छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनीहरूको मत छ । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तिजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि उनीहरू बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान भएको बताइन्छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरूको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तिजको व्रतको महत्व छ ।

व्रत बसेका महिलाको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शनका लागि भीड लाग्ने गर्छ । मन्दिर परिसरमै नाच गान गरी व्रतालु महिलाले रमाइलो गर्छन् ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तिजका नाममा उच्छृंखलता र तडकभडक आएको छ ।

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं फेसन प्रदर्शन गर्नेजस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको प्रति संस्कृतिविद् चिन्तित देखिन्छन् ।