एक हप्तादेखि सदरमुकामबाटै युवक बेपत्ता

639 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ धादिङको तिप्लिङ गाविस वडा नम्बर ९ लिङजोका १९ बर्षिय सुदिप घले एक साता अघि देखि सदरमुकाम धादिङबेसीवाटै हराईरहेका छन । सदरमुकाममा रहेको नीलकण्ठ उच्च माविको कक्षा १२ मा पढ्दै गरेका घले एक हप्तादेखि रहस्यमय तरिकाले वेपत्ता भएका हुन ।
असार २५ राती  १० वजेतिर नीलकण्ठ गाविसको वडा नम्बर १ रायटार नजिकै आंपखोला जंगलमा केही व्यक्तिले मरणासन्न हुनेगरी कुटपिट गरेर घलेलाई घाईते वनाएको सुचना पाएपछि प्रहरी घटनास्थल पुग्दा घले त्यहां नभेटिएपछि उनलाई वेपत्ता वनाईएको अनुमान प्रहरीले गरेको छ । घलेका आफन्त शोवहादुर तामाङका अनुसार घटनास्थलमा रगत लागेको चिर्पट र घटनास्थलमा रगत देखिएकाले घलेलाई कुटपिट गरी वेपत्ता वनाईएको आंशका गरिएको छ । कुटपिटमा संलग्न भएका भनिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनास्थल नजिकैवाट घलेको चप्पल भेटिएपछि उनलाई मारेर कतै गाडेको हुन सक्ने अनुमान गर्दै प्रहरीले खोजतलास कार्यलाई तिव्र पारेपनि एक हप्तासम्म केही तथ्य खुल्न नसकेको भन्दै पिडितका आफन्तहरुले खोजीकार्य तिव्र पारिदिन आग्रह गरेका छन ।
घले जानसक्ने ठाउंहरुका साथै  आफन्त र नातेदारहरुकोमा   पुगेर   खोजी गरेपनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको घलेका आफन्त तामाङले वताए ।  जतिसक्दो छिटो घलेकोे अवस्था पत्ता लगाइदिन उनका आफन्तहरुले स्थानीय प्रशासनलाई आग्रह गरेका छन ।