धादिङको पान्साङपासका साथै प्रदेश ३ का १० स्थानमा भ्यु टावर बन्दै

1828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार धादिङको रुबीभ्याली सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी,  र रसुवाको सोम्दाङमा भ्यूटावर बन्नेछन् । त्यसैगरी, सिन्धुलीको सिन्धुलीगढी र खुर्कोटमा पनि भ्यूटावर बनाउने प्रदेश सरकारको योजना छ ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले १३ जिल्लालाई लक्षित गर्दै १० भ्यूटावर निर्माण गर्न लागिएको जानकारी दिए । मन्त्री नेपालका अनुसार प्रत्येक स्टेसन निर्माणमा ३ करोड खर्च हुने अनुमान छ । यस हिसाबले १० भ्यूटावर निर्माणको लागत ३० करोड हुन्छ ।

पर्यटकहरूलाई लक्षित गरेर धादिङको रुवीभ्याली गाउँपालिकाको पान्साङपासमा  भ्युटावर निर्माण गर्न लागिएको हो । । पान्साङपास समुद्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको छ भने भ्यू टावर निर्माण लागिएको पान्साङको डाँडा भने ४२ सय मिटर उचाइमा रहेको छ ।  धादिङको सुदुर उत्तरमा रहेको रुवीभ्याली गाउँपालिका गणेश हिमालको फेदीमा रहेको वस्ती हो । गल्छी रसुवागढी स्याफ्रुबेंसी सोमदाङसम्म आठ घन्टाको मोटर यात्रापछि पान्साङ पुग्न सकिन्छ ।

धादिङ जिल्लाको उत्तरी क्षेत्र हुँदै छिमेकी देश चीनको सिमानासम्ममा पर्यटनको अपार सम्भावना रहेको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले तत्परता देखाएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताए । पर्यटकीय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र नभएर स्थानीय तह तथा स्थानीयबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।