497 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                       धादिङमा महिला पत्रकारको सवाल

 एशोदा नेपाल
धादिङ जिल्लाको पत्रकारिताको इतिहास धेरै लामो छैन । राजधानीको नजिकै रहेर पनि धादिङ जिल्लाले धेरैपछि मात्र पत्रकारितामा पाइला चालेको पाइन्छ । चालिसको दशकवाट बामे सर्न थालेको धादिङको पत्रकारिता यतिखेर आईपुग्दा केहि आशालाग्दो अवस्थामा पुगेको छ । एक दशक अघि सम्म राजधानीवाट छापिएको पत्रिका भोलिपल्टमात्र आईपुग्ने धादिङबेसीमा केहि बर्ष देखि बिहानीको झुल्केघाम संगै राष्ट्रियस्तरका रंगिन कलेवरका दैनिक पत्रिकाहरु आम पाठकको हातमा पुग्ने गरेको छ ।

राष्ट्रियस्तरका दैनिक पत्रिका संगै जिल्लावाट प्रकाशित हुंदै आईरहेका पत्रपत्रिकाले  जिल्लाको सबैठाउंमा पहुंच पु¥याउन नसकेपनि सदरमुकाममा भने सहजरुपमा उपलव्ध हुने गरेको छ । जिल्लाको भौगोलिक अवस्था,सम्वन्धित प्रकाशन गृहको आर्थिक तथा व्यवस्थापकिय चुनौतिका कारण जिल्लाका अन्य भुभागमा स्थानीय पत्र–पत्रिका समयमै पु¥याउन नसकिएको पनि हुन सक्छ । राष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सफल दर्जनौं  संचारकर्मिहरुको जन्मथलो भएरपनि  धादिङ  जिल्लाले पत्रकारितामा जुन गतीमा फड्को मार्नुपथ्र्यो त्यो हुन सकेको छैन । मुलुकमा लोकतन्त्रको स्थापना संगै धादिङ जिल्लामा स्थानीय संचारमाध्यम खुल्नेक्रम पनि निकै अघि बढेको छ । यतिखेर जिल्लाबाट पांच वटा एफ.एम रेडियो प्रशारणमा रहेका छन । थप तीनवटा एफ.एम रेडियोले फ्रिक्विेन्सी दर्ता गराएका छन । यसै गरि छापासंचार तर्फ दुईवटा दैनिक,पांचवटा साप्ताहिक र एउटा मासिक पत्रिका जिल्लावाट प्रकाशित भईरहेका छन । संचारक्षेत्रका बिज्ञहरुका अनुसार केहि बर्षयता  धादिङ जिल्लाले संचार क्षेत्रमा  फडको मार्न थालेको छ ।
जिल्लामा संचारमाध्यम खुल्नेक्रम संगै गाउंघरमै रहेर पत्रकारिता गर्न चाहने धेरैले अवसर पनि पाएका छन । पत्रकारितालाई पेशा बनाएर     अघि बढ्न चाहेहरुको संख्या बढ्दै जांदा जिल्लाको पत्रकारिताले नयांपन र स्थायीत्व पनि खोज्नु जरुरी छ । जिल्लामा बिद्युत्तिय तथा छापा संचारमाध्यम खुल्नेक्रममा निकै बृद्धि भएपनि जिल्लामा महिला पत्रकारहरुको संख्या भने अझैपनि औंलामा गन्न सकिने अवस्थामा रहेको छ । पछिल्लो समयमा आएर पत्रकारितामा पुरुषहरुको मात्र एकछत्र राज तोडिएपनि जिल्लाका संचारमाध्यममा निर्णायक तहमा महिला सहभागिता छंदैछैन भन्दा अतिशयोक्ति नहोला । प्रशारणमा रहेका पांच वटा एफ.एम. मध्ये कुनैमा पनि प्रमुख भएर काम गर्ने अवसर महिलाले पाएका छैनन । स्थानीय एफ.एम.हरुमा महिला पत्रकारहरको जिम्मेवारी समाचार तथा कार्यक्रम वाचन गर्ने भन्दा माथिल्लो तहमा देंिखदैन । सबैक्षेत्रमा महिला सहभागिता र अधिकार हुनुपर्दछ भनेर चर्को आवाज उठाउने जिल्लाका संचारगृहहरुले अहिले सम्म महिलालाई प्रमुखको जिम्मेवारी दिन नसक्नुमा संचारगृहको मात्र दोष छैन । नेपाली समाज सदिंयौं देखि पुरुषवादी चिन्तनवाट चलिरहेको छ । समाजका हरेक निर्णायक ठाउंमा महिला सहभागिता ज्यादै न्युन छ ।  हाम्रो समाज पुरुषवादी चिन्तनवाट अघिबढिरहेको हुंदा निर्णायक तहमा जहिलेपनि पुरुषको मात्र सहभागिता बढेको हो ।  संचारमाध्यम भनेको समाजको ऐना हो त्यसैले यि संचारमाध्यमले समाजलाई केहि शिक्षा दिन चाहन्छ भने आंफुले पनि केहि नयां काम गरेर देखाउन सक्नुपर्दछ । अवसरको बितरण गर्दा स्वच्छ प्रतिस्पर्धा  गराएर नेत्तृत्वमा महिला  सहभागिता गराउन सक्नुपर्दछ । अन्य क्षेत्रमा महिला सहभागिता नहुंदा चर्को आवाजमा बोल्ने हाम्रा संचारमाध्यमले आंफुलाई पनि सुधार्ने कोशिस गर्नुपर्दछ ।
जिल्लाका एफ.एम.रेडियोको व्यवस्थापकिय  नेत्तृत्वमा महिला सहभागिता नभएपनि सबैजसो रेडियोको संचालक समितिमा भने महिलाको सहभागिता रहेको देखिन्छ । संचालक समितिमा पनि प्रमुखपदमा पुरुषहरुको सहभागिता हुनुले धादिङ जिल्लाको संचारमाध्यम र संचार उद्योगमा महिला सहभागिता सन्तोषजनक नरहेको प्रष्ट हुन्छ । संचारगृहमा निर्णायक तहमा महिला सहभागिता नरहेपनि संचारगृह भित्र भने महिला पत्रकारको संख्या उत्साहजनकनै रहेको छ । पत्रकारितामा महिला सहभागिता हुनेक्रम बढेपनि दिगोरुपमा काम गर्ने महिला पत्रकारहरुको संख्याभने जिल्लामा निकै कम मात्र रहेको पाइन्छ । सामाजिक चुनौति,आर्थिक कठिनाई,क्षमता अभिबृद्धिको अवसरमा विभेद, शैक्षिक योग्यता भएर पनि सम्मानजनक जिम्मेवारी नपाउनु,पेशागत सुरक्षा नहुनु  लगायतका कारणले पत्रकारितामा लामो समयसम्म महिलाहरु टिक्न सकेका छैनन । महिलाबिरुद्धको घरेलु हिंसा बिरुद्ध शशक्त आवाज उठाउने संचारमाध्यमहरुनै महिला मैत्री बन्न नसकेको गुनासो  यदाकदा सुन्न पाईन्छ । जिम्मेवारीको बांडफांडमा पनि संचारगृहले महिला पत्रकारलाई विभेद गर्ने गरेका छन । जिल्लाका सरकारी कार्यालय,बिद्यालय,संघ संस्थाहरु महिलामैत्री बन्न नसकेको भनेर खवर प्रवाह गर्ने स्थानीय संचारमाध्यमले आंफुलाई चांहि कत्तिको महिलामैत्री बनाएका छन त ? यो बिषयमा सम्वन्धीत संचारगृहका मालिकहरुले अव सोच्नुपर्ने बेला भएको छ । प्राकृतिक रुपमा पुरुष र महिलाका बिचमा भिन्नता छ,त्यहि भिन्नताका कारण महिलाले फरक समस्याहरु भोग्नुपर्दछ । जिल्लाका संचारमाध्यमले यो बिषयमा कहिल्यै ध्यान दिएका  होलान ?
प्रचारवाजीका लागि मात्र पत्रकारितामा महिला सहभागिता हुनुले कुनै अर्थ राख्दैन । राष्ट्रिय स्तरका  संचारमाध्यममा जिल्लाबाट काम गर्ने महिला सहभागिता छंदै छैन । धादिङ जिल्लामा रहेर राष्ट्रियस्तरका संचारगृहमा काम गर्ने अवसर पाउन राजनैतिक कोटामा पर्नुपर्दछ । योग्यता भएर मात्र यो अवसर नपाइने तितो यथार्थ दुई बर्ष अघि स्तम्भकार स्वयंले भोगिसकेको छ । स्तम्भकारले दुई बर्ष अघि राष्ट्रिय समाचार समितिको स्थानीय समाचारदाताको रुपमा काम गर्ने अवसर पाउंदा जिल्लाका केहि राजनैतिक दल र संचारकमिहरुमा हलचल ल्याएको थियो । महिला भएकै कारण स्तम्भकारले जवरजस्ति उक्त जिम्मेवारी छाड्नुपरेको थियो । यो त एउटा उदाहरण मात्र हो । महिला भएकै कारण धेरै ठाउमा जिम्मेवारीमा पुगेका महिलालाई कि त काम गर्नै दिईदैन काम गर्ने दिईहालेमा पनि असफल पार्ने षडयन्त्र हुने गर्दछ ।
जिल्लामा महिला पत्रकारहरुको संख्या बढ्दै गएपनि उनिहरुको पेशागत सुरक्षा र हक हितका निम्ति शशक्त आवाज उठाउने महिला पत्रकारहरुको संगठन जिल्लामा गठन हुन सकेको छैन ।  पछिल्लो समयमा पत्रकारितामा महिला सहभागिता बढ्दै गएकाले अव उनिहरुलाई शशक्त वनाउन सक्नुपर्दछ । दयामायाले हैन क्षमताले काम गर्ने वाताबरणको विकास हुनुपर्दछ । जिल्लाका विभिन्न संचारमाध्यममा रहेर काम गरिरहेका महिला पत्रकारहरुको बिचमा समन्वय हुनु जरुरी छ । धादिङ जिल्लामा जन्मिएर जिल्ला बाहिरका विभिन्न संचारमाध्यम काम गरिरहेका महिला पत्रकारहरुको संख्या बिस्तारै बढ्दै जान थालेको भएपनि जिल्ला र जिल्ला वाहिर एवम केन्द्रमा रहेर काम  गर्नेहरुका बिचमा निरन्तर समन्वय हुन सक्यो भने जिल्लाका महिला पत्रकारले भोग्नुपरेको कुनैपनि समस्या तत्काल सार्वजनिकीकरण गर्न सकिन्छ । पत्रकारितामा देखापरेका महिलाहरुलाई हतोत्साहि पारिने कुनै पनि कार्यको अव खुलेर विरोध गर्न सक्नुपर्दछ ।
(लेखक धादिङ न्युज डट कमको प्रबन्ध सम्पादक  एबम राजधानी राष्ट्रिय दैनिकको धादिङ समाचारदाता हुनुहुन्छ । )