धादिङका ९० स्वास्थ्य संस्थाले पाए निशुल्क नेबुलाईजर

1091 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ समाज युएई ले जिल्लामा रहेका ९० वटा स्वास्थ्य संस्थालाई  नेबुलाईजर उपलब्ध गराएको छ ।

वितरण कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नेबुलाईजर वितरण गरेर आयोजकले सबैलाई काम गर्ने शिक्षा दिएको बताए । फरक प्रसंगमा उनले फजुल खर्च बढेको भन्दै अब त्यसलाई कम गरेर विकास गर्न तर्फ आफुहरु लागि परेको बताए । बुढी गण्डकी र निजगढ विमान स्थल नेपाल आफैले बनाउन सक्ने श्रोत नेपालमै रहेको भन्दै त्यसलाई नेपाल आफैले बनाउनु पर्नेमा जोड दिए । धादिङको विकासको लागि आफुहरु प्रतिबद्ध रहेको भन्दै आगामी ३ वर्ष भित्र रुभिभ्याली लगायत सम्पुर्ण मुख्य सडक खण्डको स्तरोन्ती भई सक्ने उनको भनाई छ साथै विकासका नाममा सरकारलाई असफल पार्न खोज्ने कुनै पनि तत्वलाई अब माफि नदिने गरि आफुहरुले काम गरिरहेको उनले बताए ।

यसै बिच जिल्लामा दमका रोगीहरुको संख्या दिन प्रति दिन बढ्दै गईरहेको कुरालाई मध्ये नजर गर्दै नेबुलाईजर बितरण गरिएको धादिङ समाज युएई का अध्यक्ष योगेन्द्र थापाले जानकारी दिए । दमका बिरामीले स्थानिय स्तरमै सेवा प्राप्त गर्न सकुन र नेबुलाईजर नभएकै कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यको साथ नेबुलाईजर वितरण गरिएको उनको भनाई छ ।
नेवुलाइजर वितरण अभियानलाइ धादिङ समाज कतारबाट ६० हजार सहयोग प्राप्त भएको र युएईमा रहेका ५५ जना धादिङवासीले संकलन गरेको कुल २ लाख ८८ हजार लागतमा नेवुलाइजर खरिद गरेर वितरण गरिएको आयोजकले बताएको छ ।

विदेशमा रहेका नेपाली सहयोगी मनहरुबाट आर्थिक सहयोग संकलन गरेर आफुहरु जन्मेको जिल्लाको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न पाउदा धेरै खुसी लागेको कार्यक्रमका प्रमुख सहयोगी संस्था धादिङ समाज कतारका अध्यक्ष रामकाजि थापाले बताए ।

नेबुलाईजर बितरण पछि धादिङको स्वस्थ्य क्षेत्रमा केही राहत महसुस हुने र दमको रोगीले अकालमै ज्यान गुमाउन नपर्ने अर्का अभियन्ता प्रताब कंडेलले बताए । वितरण समारोहमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, नेपाली कांग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापा र वरिष्ट जनस्वास्थ्य अधिकृत महेश्वर श्रेष्ठ लगाएतको बिशेष आतिथ्य रहेको थियो ।

-लेकबेसी खबरबाट