धादिङ जिल्ला अस्पतालमा चिकित्सक अभाव

2146 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर, अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सूचना देखेपछि निराश बनिन्। भिडियो एक्सरे सेवा किन बन्द भयो भनेर बुझ्दा अस्पतालमा चिकित्सक नभएको जानकारी पाइन्। ‘आफ्नो र पेटमा भएको बच्चाको अवस्थाबारे जान्न आएकी थिएँ,’ रानाले भनिन्, ‘अस्पताल आउँदा सेवा बन्द भनेर लेखिएको रहेछ ।’ सेवा नपाएपछि सेतीमाया अँध्यारो अनुहार लिएर फर्किइन्।

गर्भवती महिलाले ४ महिना, ६ महिना र ८ महिनामा भिडियो एक्सरे गर्नुपर्ने हुन्छ। जिल्ला अस्पतालबाट मात्रै प्रदान हुँदै आएको भिडियो एक्सरे सेवा नै बन्द हुँदा रानाजस्तै गर्भवती महिला सेवा लिनबाट वञ्चित हुनुपरेको छ। टाढाटाढाबाट स्वास्थ्य सेवा लिन भनेर सदरमुकाम आएका बिरामी नै स्वास्थ्य सेवा नपाएपछि कतिपयले हैरानी बेहार्नुपरेको छ। चिकित्सक नहुँदा गम्भीर प्रकृतिका बिरामी तथा अपरेसन गर्नुपर्ने बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता रहेको नागरिक न्यूज डट कम ले खबर छ ।

पछिल्लो तीन महिनायता जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा सेवा बन्द छ। चिकित्सक नभएकै कारण नेपाल सरकारबाट स्वीकृत भई सञ्चालनमा रहेको अपरेसनसहितको प्रसूति सेवा बन्द हुँदा गर्भवतीको नियमित जाँच र बिरामीको उपचारमा कठिनाइ भएको छ। बर्खामा जसोतसो ग्रामीण भेगबाट सेवा लिन सदरमुकाम झरे पनि उचित सेवा लिन नपाएको रानाले गुनासो गरिन्  ‘ग्रामीण क्षेत्रमा चिकित्सक नभएर सदरमुकाममा झरेका हुन्छौं,’ उनले भनिन्, ‘सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक अभावमा सेवा नै बन्द हुदाँ हामीजस्ता बिरामी मारमा परेका छौं।’

अस्पतालमा न चिकित्सक छ न उपकरण नै। अलिकति जटिल प्रकृतिका केस आउनेबित्तिकै रिफर गरिहाल्नुपर्ने बाध्यता छ। अस्पताल विकास समिति पदाधिकारीविहीन हुँदा कर्मचारीको करार नवीकरण हुन सकेको छैन भने ४ स्थायी दरबन्दीमा एक चिकित्सक छन्। भएका एकजनाले पनि निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी लिएर प्रशासनिक काम गर्नुपर्ने बाध्यता आइपरेपछि जिल्ला अस्पताल धादिङबेसीबाट प्रदान गरिने बहिरंग (ओपिडी) सेवा पनि प्रभावित भएको छ।

जिल्ला अस्पतालबाट दिइने सामान्य सेवासमेत चिकित्सक नभएकै कारण बन्द हुँदा बिरामीलगायतका सेवाग्राही निजी क्लिनिकतिर धाउन बाध्य छन्। जिल्ला अस्पतालबाट मात्रै प्रदान हुने भिडियो एक्सरे गर्नकै लागि गर्भवती महिलालाई काठमाडौं पुग्नुपर्ने हुन्छ। आवश्यक चिकित्सक नहुँदा जिल्ला अस्पताल आफैंले सञ्चालन गरेको विस्तारित स्वास्थ्य सेवा र कार्यालय समयमा आकस्मिक उपचार कक्षमा चिकित्सकले सेवा प्रदान गर्न सकेका छैनन्।

मेडिकल सुपरिटेन्डेन्ट रिक्त भएको दुई वर्ष बितिसक्दा समेत मन्त्रालय र विभागले चिकित्सक पठाइएका छैनन्। तत्कालीन मेसु डा. रसिला अमात्य सरुवा भएपछि १ वर्षसम्म नित्तिम मेसु चलाएका गौरव महतोको समेत सरुवा भइसक्दा मेसु दरबन्दीका चिकित्सक आएका छैनन्। हाल जिल्ला अस्पतालममा स्थायी दरबन्दीमा कार्यरत चिकित्सक दीपा बोहराले नित्तिम मेसुको काम सम्हालिरहेकी छिन् भने बहिरंग सेवा ४ जना करार चिकित्सकको भरमा चलेको छ।

१५ शड्ढया क्षमताको अस्पताल ५० शड्ढयामा स्तरोन्नतिका लागि गत २०७४ माघमा अनुमति पाएको थियो। तर, सीमित स्रोतसाधन र चिकित्सक अभावले जिल्ला अस्पताल आफैं बिरामी परेको छ। १५ शड्ढयाको अस्पताल भए पनि अहिले त्योभन्दा बढी शड्ढयाबाट सेवा दिइरहेको अवस्थामा पनि जिम्मेवार निकायबाट हेलचक्रयाइँ हुँदा जिल्ला अस्पतालमा उपचार गराउने बिरामी समस्यामा परिरहेका छन्। कर्मचारीको करार अवधि गत असारमा सकिएपछि अस्पतालले दिने सेवा, स्रोत र साधनको अभावका कारण सेवा ठप्प भएको जिल्ला अस्पताल धादिङका निमित्त प्रमुख डा. बोहराले बताइन्। ‘जिल्ला अस्पताल भनेर बिरामी र आफन्त ठूलो आशा र भरोसाका साथ आएका हुन्छन्,’ उनले भनिन्, ‘स्रोतसाधन अभावका कारण चाहेर पनि सेवा दिन नसक्दा खल्लो लाग्छ।’

जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीलाई चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ। गत असारदेखि प्रसूति सेवा बन्द छ। कुनै जटिल अवस्था आइपरेमा तत्काल राजधानी काठमाडौं नै रिफर गर्नुको विकल्प नभएको बोहराले बताइन् । ‘अस्पतालमा बिरामीको चाप बढ्दो छ’, उनले भनिन्, ‘दक्ष चिकित्सक र स्रोतसाधनकै अभावका कारण रोकिएको सेवा सुरु गर्न सकेका छैनौं।’

पटकपटक स्वास्थ्य मन्त्रालय, विभाग र क्षेत्रमा चिकित्सक नभएकाले समस्या भएको भनेर पत्र पठाए पनि मागको कुनै सुनुवाइ भएको छैन। प्रसूति क्षेत्रमा सेवा दिँदै आएका डा. अर्जुन श्रेष्ठको करार अवधि सकिएपछि भिडियो एक्सरे सेवा र अपरेसनसहितको आकस्मिक प्रसूति सेवा सञ्चालनमा समस्या भएको अस्पतालले जनाएको छ।