पाक्नेबेलाको धानबालीमा किराको प्रकोप

921 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको थाक्रे गाउँपालिका ११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानबालीमा किराको प्रकोप फैलिएपछि चिन्तित छन्। धान पाक्नेबेला किराको प्रकोप देखिएपछि दुःख गरेर लगाएको खेती माटोमा मिसिएको छ।

४ रोपनी जग्गामा लगाएको धान सबै नष्ट भएको अधिकारीले बताए। ‘मरिमेटेर दुःख गरियो, भरिलो दाना फल्ने बेलामा किराको प्रकोप फैलियो, यो वर्ष के खाने होला रु’ अधिकारीले भने, ‘पुतली जस्तो किराले धानको बोटको डाठमा चुस्ने र रस चुसेर पराल नै बनाएको छ।’ ४ रोपनी जग्गामा लगाएको धानबालीमा फूल फूल्न लागेको बेलामा किराको प्रकोप फैलिएपछि उनी चिन्तित छन्।

चुसाहा रोगको प्रकोपले धानबालीमा क्षति भएपछि किसानहरु मर्कामा परेका छन्। धेरै आम्दानीको आशमा किसानहरूले हाइब्रिड जातको धानको खेती गरेका थिए। धान पाक्ने बेला किराले सखाप बनाइदिएपछि यस भेगका किसानहरू निराश बनेका छन्। खेतबारीमा लगाएको धानबाली चुसाहा रोगले सखाप पारेपछि किसान चिन्तित भएको अधिकारीले बताए। ‘दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेको छ’ अधिकारीले भने, ‘वर्षभरी खाने धान सबै सखाप भयो, अब परिवार कसरी पाल्नु ? ’

पाक्ने बेलाको धानमा किराको प्रकोप देखिएपछि अधिकारी मात्र होइन जिल्लाको थाक्रे गाउँपालिकाका किसानहरू चिन्तित बनेका छन्। मानो लगाएर मुरी उब्जाउने बेला भएको धानबालीमा महामारी नै फैलिएको हो। थाक्रे गाउँपालिका ११, को वालुवाफाँट, वरुवालटार, मान्खुटार लगायतका क्षेत्रमा लगाइएको ७० रोपनी भन्दा बढी धानबालीमा प्रकोप देखिएको छ। त्यसमध्ये ३० रोपनीमा लगाइएको धानबाली नष्ट भएका छन्। विशेष गरी थाक्रे ११ को बालुवाफाँट र बरुवालटारमा बढी क्षति गरेको छ। यी क्षेत्रका धानबाली किराले सखाप नै पारिदिएको छ। प्रकोपकै रुपमा किराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको नागरिक न्यूज डट कमले खबर लेखेको छ ।

अधिकांश किसानको मुख्य पेशा नै धानबाली हो। धानखेतीबाट आफू र आफ्नो परिवारको छाक टार्नेदेखि बेचेर जीविका धान्ने गरेका छन्। तर वर्षदिनभरीका लागि लगाएको खेतीमा किराको प्रकोप देखिएपछि खाद्यन्नको जोहो गर्न कठिन हुने थाक्रे ११ का किसान ईश्वर रुपाखेतीले बताए। ‘हामी किसानहरू आफैंले किनेर लगाएको हाइब्रिट जातको धानबालीमा प्रकोप देखिएको हो’ रुपाखेतीले भने, ‘वर्षदिनभरीको मेहनत माटोमा मिसिएको छ, दुख गरेर लगायो, प्रतिफल शुन्य देखिएको छ।’ रोपेको समयमा राम्रो भएपनि जब फूल फूलेर पाक्ने बेलामा किराको प्रकोप देखिएको किसानहरू बताउँछन्।

किराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ। साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए। अब पूरै खेतमा कीराको समस्या देखिएको छ। मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि चिन्तित भएको उनले बताए। खेतमा लगाएको धान परिवारका लागि वर्षभरि खानका लागि राखेर बिक्रि गर्नसम्म हुन्थो। पाक्न नपाउँदै धानका बोट किराले काट्न थालेपनि चिन्तित छौँ, उनले दुखेको पोख्दै भने, खानकै लागि धान्न किन्नुपर्ने अवस्था आएको छ।

यस क्षेत्रमा एक रोपनी जग्गामा ४ क्वीन्टल भन्दा बढी धान फल्ने गरेको थियो। ७० रोपनीमा दुई सय ८० भन्दा बढी क्विन्टल धान नष्ट भएको थाक्रे गाउँपालिका ११ का वडा अध्यक्ष रविप्रकाश ओझाले बताए। ‘वडाभित्रमा करीब ७ सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान लगाइएको छ’ ओझाले भने, ‘अन्य ठाउँमा लगाइएको धानबालीमा प्रकोप फैलन नदिनका लागि विषादी छर्कने कार्य भइरहेको छ।’ यस क्षेत्रमा अघिल्ला वर्षमा पनि केही ठाउँमा यस्तो समस्या देखिएको थियो तर अहिले धेरै क्षेत्रफलमा यस्तो समस्या देखिएको उनले बताए।

किसानहरुको धानबाली नष्ट भएपछि थाक्रे गाउँपालिका ११ का वडा अध्यक्ष रविप्रकाश ओझा, प्राविधिक सहायक राजेन्द्र रुपाखेती लगायतको टोलीले धानबालीको निरीक्षण गरेका थिए। निरीक्षणपछि धानबालीमा चुसाहा प्रकृतिको किराको प्रकोप देखिएको थाक्रे गाउँपालिकाका प्राविधिक सहायक राजेन्द्र रुपाखेतीले बताए। ‘चुसाहा प्रकृतिको किराले धानको डाठ र फलमा चुस्ने र रस चुसेर पराल नै बनाइदिएको छ। पाक्ने बेला धान अहिले पहेँलै भएर ढलेका छन्’ रुपाखेतीले भने, ‘प्रकोप देखिएका धानबालीमा विषादी छर्केका छौँ।’

प्रकोप फैलन नदिनका लागि तत्कालका लागि किरा मार्ने औषधीहरु हालिएको छ। सम्भावित प्रकोप रोक्नका लागि डेल्टामेथिन र ट्राइजोफोस साकाल नामक विषादी, बोसिन भन्न किटनाषक औषधी र फ्लोरिक एसिडयुक्त भिटामिन फ्लावरबुस्ट ६० जना किसानलाई वितरण गरिएको छ। यस्तो प्रकृतिको किराको प्रकोप एकरातमै धेरै क्षेत्रमा फैलिन सक्ने भएकाले किसानहरुलाई किटनाशक औषधी वितरण गरिएको प्राविधिक रुपाखेतीले बताए। हाइव्रिड जातमा कहिलेकाहीँ मौषमको प्रतिकुलताको कारण यस्ता प्रकोपहरु फैलन सक्ने खतरा हुने उनले बताए।