युवामा मानसिक समस्या बढ्दै

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए ।

उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा महतले बताए ।

उनले भने, “अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन् ।” अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क छैन । स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्याङ्क सङ्कलन शुरु गरेको छ । मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो ।

परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा महतले बताए । समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ ।

उनले भने, “आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनुपर्छ भनेर अभिभावकलाई सूसुचित गर्न खाँचो छ ।” आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्यासमेत गरिरहेका छन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागुऔषध र मदिरापान गरिरहेका छन् ।

अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा महतले बताए । आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उनले बताए । रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन् ।

टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा सरोज ओझाले देशभरमा कति मानसिक रोगी छन्, भन्ने एकीकृत तथ्याङ्क नभए पनि झण्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको बताए । नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ ।

उनले भने, “ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ, भन्नेसमेत जानकारी नभएर रोग पालेर बसिरहेका छन् ।” नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा ओझाले बताए । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ ।

श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ । उनले भने, “एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्का्तिर सन्तान र परिवारको जिम्मेवारीसमेत थपिन्छ ।”

इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताइन् ।

साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिएको हो । उनले भनिन्, “सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ ।”

नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोबाद झण्डै ३० जना रहेका छन् । सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन । विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन् ।

रासस