बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा ,१३कात्तिक ,। गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।
 
आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको हो ।
 
आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने बताए । “डिपिआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ”, उनले भने ।
 
प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटार सम्मको १०० किलोमिटर सडकको डिपिआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको उनले बताए । उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी छ ।
 
सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड छुट्याएको छ । दुवै जिल्लामा ६ ६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ ।
रासस