धादिङको मालिङ्गामा बस दुर्घटना एक जनाको मृत्यु, ३१ घाइते

1060 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , २४ कात्तिक- धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको मालिंगामा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोका अनुसार नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा चितवनको पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् । उनी ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको पनि प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालक भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।