सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थाको आह्वान

1607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिन आह्वान गरेका छन्। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ ले गरेको व्यवस्थाअनुसार यस्तो आह्वान गरिएको हो। सहुलियतपूर्ण कर्जा लिन जाँदा बैंक तथा वित्तीय संस्थाले नदिएको उजुरी आएपछि राष्ट्र बैंकले वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीका एसोसिएसनलाई दुई दिनभित्र ऋण दिने सूचना जारी गर्न मंगलबार निर्देशन दिएको थियो। सोही निर्देशन पालना गर्दै उनीहरूले सूचना जारी गरेर सहुलियतपूर्ण कर्जा लिन आह्वान गरेका हुन्।

राष्ट्र बैंकले कार्यविधि कार्यान्वयन गर्न दसैंअघि नै निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले अटेर गरेका थिए। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका तीनवटै वित्तीय संस्थाका एसोसिएसनलाई ऋण दिने सूचना जारी गर्न निर्देशन दिएको थियो। अब सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय गर्न चाहने युवाले सहजै कर्जा पाउने बैंकका डेपुडी गर्भनर चिन्तामणि शिवाकोटीले जानकारी दिए।

सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ।

सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि मन्त्रिपरिषद् बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो। त्यसपछि अर्थ मन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको हो। राष्ट्र बैंकले असोज ११ गते नै मिलाउन निर्देशन दिएको थियो।

राष्ट्र बैंकले गत साता सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइ उद्यम व्यवसाय सञ्चालन गर्न सूचना जारी गरेको थियो। यस्तो कर्जा लिन चाहने युवाले स्थायी लेखा नम्बर लिएको हुनुपर्दछ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाले मात्र पाउनेछन्।

स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण पाउनेछन्। शैक्षिक प्रमाणपत्र धितोमा राखे ऋण पाउन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग कार्यालय/समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कम्तीमा ७ दिनको सीप विकास तालिम लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नुपर्छ अन्नपूर्ण पोष्ट डट कममा खबर छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ वर्ष उमेर पुगेका युवाले पाउनेछन्। १० लाख रुपैयाँसम्म कर्जा लिन सामूहिक जवानी, १० लाखभन्दामाथि कर्जा लिन संस्था र एक करोडभन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ। १० लाख रुपैयाँभन्दा बढी कर्जा लिन चाहने संस्था वा कम्पनीले कर्जाको विस्तृत परियोजना विवरण पेश गर्नुपर्नेछ।

वेदेशिक रोजगारीबाट फर्केका युवा परियोजनाका लागि विदेशमा ६ महिना काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्नेछ। १० लाख रुपैयाँसम्म पाइने यस्तो कर्जा ग्रिन कार्ड होल्डरले भने पाउने छैनन्।

१८ वर्ष उमेर पुगेका कम्तीमा पाँच जनाको समूहले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशीलता कर्जा पाउनेछन्। माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरेका २५ वर्ष उमेर ननाघेका, विपन्न, सीमान्तकृत, समुदाय वा लक्षित वर्गले सात लाख रुपैयाँसम्म ऋण सुविधा पाउनेछन्।

भूकम्पका कारण निजी आवास गुमाएका अन्य कुनै संस्थाबाट अनुदान नपाएका, अन्य कुनै ठाउँमा बस्नयोग्य घर नभएका भूकम्पपीडितले तीन लाख कर्जा पाउने व्यवस्था गरेको छ। यी सबै कर्जाको अवधि ५ वर्षको हुनेछ। महिला उद्यमशीलता लागि ६ प्रतिशत ब्याज अनुदान र ५ करोडभन्दा माथिका व्यावसायिक कृषि तथा पशुपन्छी परियोजनका लागि दुई प्रतिशत ब्याज अनुदान पाउने व्यवस्था गरिएको छ।