क्युङ्ग गाउँका वासिन्दाहरु ज्यानको बाजी थापेर भिर मौरीको शिकारमा (भिडियो सहित )

1519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ७ मंसिर – उत्तरी धादिङको विकटमा रहेका अक्करे भिरमा यतिबेला भिर मौरीको मह शिकारको याम शुरु भएको छ ।
धादिङको खनियावास गाउँपालिकाको क्युङ्ग गाउँका वासिन्दाहरु समुहमा मिलेर गाउँदेखि निकै टाढा टाढा सम्म पुगि सामुहिक रुपमा भिर माहुरीको मह शिकार गर्ने गरेको बताउँछन् । भिर मौरी  बस्ने ठाउँ निकै अप्ठेरो स्थानमा हुने भएकाले स्थानीय रुपमा उपलब्ध हुने श्रोत साधनको प्रयोग गरेर जोखिम मोलेर भिरमा चढी महको शिकार गर्ने गरिएको स्थानीय सामाजिक अभियन्ता मंग तामाङ बताउँछन् ।
ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा भिर मौरीको मह राम्रो मुल्यमा विक्रि हुने र शहर वजारमा यस्को माग समेत अत्याधिक रहेको कारण यो पेशा आम्दानीको राम्रो श्रोत बन्ने गरेको उनिहरुको भनाई छ ।
भिर मौरीको मह निकाल्नका लागी त्यहाँका स्थानीयहरुले पर्वकै रुपमा कार्तिक र मंसिर महिनालाई लिने गरेका छन । जोखिम नै भए पनी पुर्खौ देखी गर्दै आएको पेसा भन्दै अहिलेका युवाहरुले समेत यस्लाई निरन्तरता दिने गरेका छन् । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरीमा झुण्डिएर शिकार गर्ने गर्दछन् ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा गरी दुई समूहमा शिकारी बाँडिएका हुन्छन । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ ।
यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा समेत छ । विभिन्न किसिमका औषधि बनाउन पनि यसको प्रयोग हुँदै आएको मह व्यापारीको भनाइ छ ।
‘महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्नेले विशेष ध्यान पु¥याउनुपर्छ ।’ मह शिकारी सुनवहादुर तामाङले वताए । ।
भिर मौरीको मह निकाल्न त्यहाँका स्थानीयहरु सबै जम्मा भई एउटै समुहमा मिलेर मह निकाल्नका लागी भिरमा जाने गर्दछन् । भिरबाट निकालिएको मह बरावर भाग लगाई लिने गरिएको स्थानीय रामवहादुर तामाङले वताए ।
भिर मौरीको मह बजारमा प्रति माना एक हजारदेखी पन्ध्र सय सम्ममा बिक्री हुने गरेको उनिहरु बताउछन् । धादिङको उच्च पहाडी क्षेत्रका ठुला ठुला पहाराका विचमा यस्ता भिर माहुरीहरु हुने गर्दछ । कहालीलाग्दो भीर पहराहरूमा हुने मह शिकार हुने गर्दछ । परापूर्वकालदेखि जंगलको आसपासमा बस्दै आएका तामाङ समुदायका मानिसहरूको आम्दानीको स्रोत बन्ने गरेको मह शिकारलाई व्यवस्थित गर्न सके पछिल्लो वर्षहरूमा भने आन्तरिक पर्यटक लोभ्याउने आकर्षण बन्न सक्ने स्थानीयको सुझाव छ ।
आङै सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ मह शिकारीहरूले मह काढेको रमणीय दृश्य विदेशी पर्यटकका साथै भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेकाको लागि पनि अविस्मरणीय र रोचकको विषय बन्ने गरेको छ । मह शिकारलाई पर्यटन प्रवद्र्धनको रुपमा पनि विकास गर्नुपर्ने खनियाबासका सामाजिक अभियन्ता मंग तामाङ बताउँछन् । भिरपहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह शिकार गरिए स्थानीय गाउँलेको आम्दानीको साथै मह शिकारले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने तामाङको विश्वास छ ।
हिमाली र लेकाली क्षेत्रमा विभिन्न प्रजातीका जडिबुट्टीका फुलहरु हुने भएकाले गर्दा त्यहाँका माहुरीको मह औषधीको रुपमा प्रयोग हुने गरेको हो ।

भिडियो हेर्नका लागि यहाँ किलिक्क गर्नुहोस