मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

1311 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ गाउँपालिका रहेको छ । 

जिल्लाको कृषि, घरेलु, पर्यटन, जातीय संस्कृति, वन तथा खनिजजन्य उत्पादनको प्रचार–प्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको सो मेलाको  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दहालले मंसिर १४ गते उदघाटन गर्नु हुने भएको छ ।

 मेलामा फलफुल, तरकारी , माछा, माहुरी, च्याउ, सुन्तला,उखु, खाद्यन्नवाली लगायत प्रर्दशनीमा राखिने छ । महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, औद्योगिक उत्पादन, हस्तकला, जडिवुटी तथा वनपैदावार, खनिजजन्य उत्पादनको प्रदर्शनी तथा विक्री गरिने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोधनाथ दुवाडीले वताउनु भयो ।

 धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार एवम् प्रवद्र्धनको लागि प्याराग्लाईडिङ तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराउने व्यवस्था मिलाइने अध्यक्ष दुवाडीले वताउनु भएको छ ।

महोत्सवका राष्ट्रिय तथा स्थानीय रूपमा ख्याती प्राप्त कलाकारहरुबाट दैनिक सांस्कृतिक प्रस्तुति र जातजातीका भेषभुषा तथा संस्कृति प्रदर्शनी गरिने भएको छ । महोत्सवमा विद्यार्थी, अपाङगता भएका र जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिने छ ।

कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक विकासमा समर्पित विभिन्न निकायहरुको सहकार्यमा महोत्सवको आयोजना गरिएको उधादिङ द्योग वाणिज्य संघ धादिङले जनाएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको प्रचार–प्रसार गर्नुका साथै क्रेता र विक्रेताबीचमा सम्बन्ध विस्तार गर्नका लागि सो महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

धादिङमा प्राकृतिक सम्पदा प्रशस्त रहेको तर तिनको समुचित विकासको र प्रचार प्रसारको अभावले गर्दा ओझेलमा पर्दै गइरहेकोले महोत्सव मार्फत सम्पदाको संरक्षण ,धादिङमा उत्पादन हुने खाद्य वस्तु, स्थानीय कला, संस्कृति, कृषि, सूचना, पर्यटन,धार्मिक तथा औद्यौगिक प्रदर्शनीहरू महोत्सवको मुख्य आकर्षण हुने बताइएको छ । महोत्सवमा कृषि तथा फलफुल,पशुजन्य उत्पादन,तयारी पोशाक, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदा, विद्युतीय मेशिन औजार, कला संस्कृति,जडिबुटी,लोपोन्मुख वस्तुहरु, रुवी ढुंगा, स्लेट, गन्धकका साथै बिज्ञान प्रविधि लगायतका सामानहरुको प्रदर्शनीकक्ष राखिने बताइएको छ ।
महोत्सवमा एक सय ५०वटा स्टल रहने छ ।  महोत्सव  करीब १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको र महोत्सवमा करीब पाँच करोडको कारोबार हुने आयोजक संस्थाको अपेक्षा रहेको  छ ।