धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु

1663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ मंसीर – धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ चरौंदी स्थित खेलमैदानमा मंसीर २३ गते सम्म संचालन हुने महोत्सवको पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहालले शुक्रवार उदघाटन गर्नु भएको हो ।
१० वर्ष युद्धको नेतृत्वकर्ता रहेर युद्ध सफल भएपछि १० वर्ष शान्ति प्रकृयामा सहभागि भएकोले शान्ति प्रकृयाबाट नयाँ संविधान, गणतन्त्र र मौलिक हकसमेत जनाताले अभुतपूर्व रुपमा सफलता पाएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सरकारले एक वर्ष भित्र विकासको केही नमूना काम गरेको र अब चार वर्षमा आर्थिक विकासले देशले निकै फड्को मार्ने पनि दाबी गर्नुभयो ।
धादिङ जिल्ला कृषि, पर्यटन,जडीबुटी र जलविद्युतबाट जिल्लाले आर्थिक विकास गर्दै सम्वृद्ध हुने संभावना रहेकोले सरकारले यसतर्फ ध्यान दिएको बताउनुभयो । धादिङ जिल्ला सबै गाउँपालिकासम्म सडक नपुगेको अवस्थामा पक्की सडक बनाउने, बुढी गण्डकी जलविद्युतलाई छिट्टै निर्माण सुरु गरेर देशको विकासमा टेवा पुर्याउने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङहुँदै लुम्बीनी पुर्याउने, तरकारी सुपरजोनको रुपमा जिल्लालाई विकास गर्ने योजना रहेको अध्यक्ष दहालले कार्यक्रममा वताउनु भयो ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समिति र वेनिघाट रोराङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको मेलाको उदघाटन समारोहलाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष दहालले अहिले सरकारको कामको आलोचना भएपनि नेकपाको नेतृत्वमा सरकार बनेपछि देशमा निकै परिवर्तन भएकोे बताउनु भएको छ ।
शान्ति प्रक्रियाका बाँकि कामलाई राजनैतिक दलहरु बीचको सहमतिका आधारमा टुङगोमा पुर्याउन नेपाली काँग्रेससँग छलफल भैरहेको पनि अध्यक्ष बताउनु भयो । असम्भव भनिएका धेरै काम सहमतिमा टुङ्ग्याएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दहालले अबको लडाईँ देशको आर्थिक परिवर्तनका लागि हुनुपर्नेमा जोड दिनु भयो ।
सरकारले गरेका राम्रा कामको प्रस्तुत गर्दै दहालले भन्नुभयो, धेरै नयाँ ऐन बनेका छन्, वन्न बाँकी ऐन निर्माणको चरणमा छन, संबैधानिक संकट हटेको छ,चारवर्षभित्र काठमाडौँमा रेल पुग्ने गरी पूर्वाधार विकासका योजना बनेका छन् । धादिङ र गोरखाको सिमानमा रहेको बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाको निर्माण अभियानका लागि आवश्यक तयारी तिब्र ढँगले अगाडि बढिरहेको पनि दहालले बताउनु भयो । दलहरु बीचको एकताको बलमा राजनैतिक परिवर्तन, स्थायी शान्ति र विकासका आधारहरु खडा गरिएको बताउँदै दहालले राजनैतिक एकता हुन सकेन भने देशका लागि ठूलो दुर्भाग्य हुने बताउनु भयो ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु भएको मेलामा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, चेपाङ समुदायको मौलिक कला र संस्कृतिको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, जडिवुटी तथा वनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेका छन् । साथै महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहेको छ ।
मेलामा १२० वटा स्टल रहेको छ । धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार एवम पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा ¥याफ्टिङ गराईनुका साथै जिल्लाको पर्यटकिय क्षेत्रहरुको वारेमा पनि मेलामा जानकारी गराईनेछ आयोजकले जनाएको छ । मेलाको उदघाटन पुर्व विभिन्न जाती र समुदायहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी गराईएको थियो ।महोत्सवको लागि प्रवेश शुल्क ७० र विद्यार्थी छुट सहित ५० निर्धारण गरिएको छ । साथै मेलामा समूहमा आउने विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको पनि धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष वोधनाथ दुवाडीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा धादिङका साम्सद खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेल लगायतले शुभकामना दिनुभएको थियो ।