धादिङमा पुरुषहरुबाट सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

1780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ मंसिर  –  भदौ १ गतेबाट नयाँ मूलुकी संहिता लागु भएसंगै अदालतमा पुरुषहरुबाट सम्वन्ध विच्छेदको संख्या वढेको छ । धादिङमा भदौ १ गते पछि अहिले सम्म  पुरुषहरुबाट २७ वटा सम्वन्ध विच्छेदका निवेदन परेका छन् ।

विगतमा पुरुषहरु सिधै सम्वन्ध विच्छेदका लागि अदालत पुग्न सक्ने व्यवस्था नभएपनि नयां व्यवस्थामा त्यसलाई राखिएपछि पुरुषहरुको निवेदन वढेको हो ।

नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषहरु पनि सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ । नयाँ ऐन लागू हुनुभन्दा पहिला पुरुषलाई सिधै अदालत आएर सम्बन्ध विच्छेदको लागि अदालती पक्रियामा जान पाउने व्यवस्था थिएन् । यसअघि सम्बन्ध विच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत सिफारिस लिएर मात्रै अदालतमा सम्बन्ध विच्छेदको लागि जाने कानुनी प्रावधान थियो । तर,भदौ १ गतेदेखि लागूभएको नयाँ मुलुकी ऐनमा पुरुषले पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको हो ।

पुरुषहरुले श्रीमतीले घरव्यवहार चलाउन नसकेको, आफु बैदेशिक रोजगारीमा रहदा सम्पत्ति हिनामिना गरेको, परपुरुष सग सम्बन्ध जोडेको जस्ता आरोपसहित निवेदन दिएका छन् ।

जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ ।

हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १६३ प्रतिशत मुद्दा फैसला गरेको हो । गत चौमासिकमा जिल्ला अदालतले १३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २१३ थान मुद्दा फैसला गरी मुद्दा फैसलामा द्रुतगति दिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दङ्गालले बताए ।

देवानी १९४ र फौजदारी १३६ र पुनरावेदनका लागि आएका दुई मुद्दा गरी जिल्ला अदालतमा कात्तिक मसान्तसम्ममा ३३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा पुरुष वादी भएका सम्बन्धविच्छेदका २७ थान मुद्दा परेकोमा छ थान मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष ०७४/७५ मा सम्बन्धविच्छेदका २०५ थान मुद्दा दर्ता भएकोमा १४४ थान मुद्दा फछ्र्योट भएको थियो । जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ ८७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ ।