बहिष्कार गरिएको होइन, बैठक बस्न ढिला हुने भएर बाहिरिएको प्रवक्ता श्रेष्ठको दावी

1054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बहिष्कार गरेर चर्चामा आएका सो पार्टीका चार नेता मध्ये पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कारको बचाउ गरेका छन ।

आईतबार धादिङको सदरमुकाम धादिङबेसीमा पत्रकारहरु संग कुरा गर्दै नेकपाका प्रवक्ता श्रेष्ठले पार्टी सचिवालय बैठकको बहिष्कार नभई निर्धारित समयमा बैठक शुरु नहुने संकेत देखिएकाले आंफुहरु बैठक स्थलबाट बाहिरिएको वताएका हुन । पार्टीका दुई अध्यक्ष र महासचिव अन्य काममा व्यस्त रहेको र बैठक बस्न ढिला हुने खबर आएपछि निर्धारित समय भन्दा १५ मिनेट पछि बैठक स्थलबाट आंफुहरु वाहिरिएको हो,बैठक बहिष्कार गरिएको होइन प्रवक्ता श्रेष्ठले वताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा शुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमतिअनुसार बैठक शुरु गर्ने भनिएको समयभन्दा १५ मिनेट कुरीसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले पार्टी बैठक बहिस्कार गरेको नभइ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भन्दै प्रचार गरिएको भनि आफ्नो कार्यको बचाउ गरेका हुन ।

शनिवार ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठक  बहिस्कार गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम रहेका छन्।

तोकिएको समयमा बैठक सुरु नभएकाले आफुहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकका लागि १५ मिनेट कुर्ने र समयमा सुरु नभए हिँड्ने गरेको उनले बताए। सबै नेताहरु समयमै आउनु पर्नेमा उनले जोड दिए।

धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आज  हुन लागेको सांस्कृतिक कार्यक्रमको उद्घाटनका लागि मेला स्थल जानका लागि आईतबार सांझ धादिङबेसी आईपुगेका प्रवक्ता श्रेष्ठले पार्टीको एकीकरण प्रकृया अब छिट्टै टुंगोमा लाग्ने र अव वस्ने सचिवालय बैठकले जिल्ला तह देखि जनवर्गिय संगठनहरुको एकता र नेत्तृत्व चयनका बिषयमाटुंगो लगाएर पार्टीको गतिविधिलाई शशक्त पार्ने  वताए ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, खेमप्रसाद लोहनी, ३ नम्बर प्रदेश सदस्यहरु गुरुप्रसाद बुर्लाकोटी,डाक्टर रामकुमार अधिकारी,रामवहादुर भण्डारी, विजय बुर्लाकोटी, मनराज भण्डारीका साथै जिल्ला तहका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।  पत्रकार भेटघाट अघि नेकपाका नेता कार्यकर्ताहरुले प्रवक्ता श्रेष्ठलाई सदरमुकाम धादिङबेसीमा स्वागत गरेका थिए ।  पत्रकार भेटघाटमा पार्टी बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिए ।