ओवाङबाट ५ सय केजी लागूऔषध गाँजा र हतियार सहित चार जना पक्राउ

1690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ मङ्सिर – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ओवाङ गाउँबाट शुक्रबार बिहान विभिन्न हातहतियार र अवैध लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ बेनिघाट रोराङ गाउँपालिका २ बस्ने ४० वर्षीय ठुलोकान्छा तामाङ, सोही ठाउँ बस्ने ३० वर्षीय सानोकान्छा तामाङ र बीरबहादुर तामाङ, चितवनको ईच्छाकामना गाउँपालिका ७ बस्ने धादिङ बेनिघाट रोराङ गाउँपालिका २ घर भएका ४० वर्षीय गुन्जबहादुर घलान रहेका छन् ।
प्रहरी चौकी डांडाखर्क मकवानपुर, ईलाका प्रहरी कार्यालय गजुरी र ३ नम्बर प्रदेश कार्यालय हेटौडाबाट संयुक्त रुपमा खटिएको प्रहरी निरीक्षक नवराज ढुंगेलको कमाण्डको प्रहरीटोलीले उक्त गाउँमा खोजी गर्ने क्रममा गुन्जबहादुर र ठुलोकान्छाको घरबाट भरुवा बन्दुक २ नाल तथा बाह्र बोरको १ नाल बन्दुक, सानोकान्छाको घरबाट भरुवा बन्दुक १ नाल तथा १० बोरा अवैध लागूऔषध गाँजा र बिरबहादुरको घरबाट भरुवा बन्दुक १ नाल तथा १२ बोरामा रहेको अवैध लागूऔषध गाँजा सहित करिव ५ सय किलो गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।