मुख्यमन्त्री डोरमणि पौडेलबाट सिद्धलेक गाउँपालिका भवनको उद्घाटन

1307 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक ४ पुस –  धादिङको सिद्धलेक गाउँपालिकाले सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको छ । नवनिर्मित भवनको बुधवार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ बुङचुङमा एक करोड ८७ लाख ७९ हजार ४ सय ४८ रुपैयाँको लागतमा दुईवटा भवन निर्माण सम्पन्न भएको हो । दुईवटा भवनमा गरी १९ वटा कोठा, सभा हल, इजलास समेत रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलका साथै, ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल,धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनी, क्षेत्र नम्बर १का प्रतिनिधि सभा सदस्य भूमिप्रसाद त्रिपाठी, ३ नम्बर प्रदेश सभा सदस्य डा.रामकुमार अधिकारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, पुर्व सभासद गुरुप्रसाद वुर्लाकोटी, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक डम्बरवहादुर विकका साथै विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरु अन्य जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,सामाजिक संघ संस्थाका प्रमुख लगायतको आतिथ्य रहेको थियो ।

३ नम्बर प्रदेशका विभिन्न जिल्लामा रहेका स्थानीय तह मध्ये धादिङको सिद्धलेकले पहिलो पटक आफ्नै भवन निर्माण गरेर प्रदेश भित्र उदाहरणिय कार्यगरेको भन्दै प्रमुख अतिथि एवम ३ नम्बर प्रदेशका मुख्य मन्त्री पौडेलले गाउँपालिकाको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने दाताहरुका साथै निर्माण कार्यमा सहयोग पु¥याउने सबैलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले जनताले लाभ लिन नसक्ने विकासले मुलुकमा कुनै परिवर्तन ल्याउन नसक्ने भएकाले समुन्नत विकास अबको आवश्यकता र समृद्ध समाज निर्माणका लागि आर्थिक क्रान्ति अपरिहार्य भएकोले हरेक स्थानीय तहले विकास र समृद्धि ल्याउनको लागि कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

सबैभन्दा बढी जलस्रोत, प्रविधि, औद्योगिक क्षेत्र भएको ३ नम्वर प्रदेशले ती विषयलाई व्यवस्थित गरेर लैजान आवश्यक रहेको र विकास निर्माण आर्थिक कृयाकलाप संग जोडिनु पर्ने मुख्य मन्त्री पौडेलको सुझाव थियो । हरेक गाउँ गाउँका युवाहरु उत्पादनमुलक क्षेत्रमा जोडिएर समृद्ध भएमात्रै मुलुकमा आर्थिक क्रान्ति पनि सफल हुने मुख्यमन्त्रि पौडेलले वताउनु भयो ।
प्रदेश सरकार स्थापनाको एक बर्ष सम्म कानूनी,प्रशासनीक लगायतका केही अप्ठ्यारामा अल्झिएकोले जनताले प्रदेश सरकारको अनुभुती गर्न नसकेको वताउँदै मुख्य मन्त्री पौडेलले अब आम नागरिकले प्रदेश सरकार भएको प्रत्यक्ष अनुभुती गर्ने दिन नजिकै आईसकेको समेत वताउनुभयो ।

अहिलेको स्थानीय तह पहिलेको गाविस,वडा जस्तो स्थानीय विकास मन्त्रालयको मातहतमा नभई आफै स्वायत्त निकाय भएको र गाउँपालिका स्थानीय सरकार भएकाले आम नागरिकले विकास र परिवर्तनका लागि स्थानीय तहसंग समन्वय गर्नुपर्ने मुख्यमन्त्रि पौडेलको सुझाव थियो ।