सडक विस्तार गर्दा मुआव्जा नदिएको भन्दै नुवाकोट बन्द

1338 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ माघ – नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका सडक प्रभावित बासिन्दाले सडक विस्तारका क्रममा मुआब्जा नपाएको भन्दै आईतबार (आज) नुवाकोट बन्द गराएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्र्तगत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडक खण्ड (पासाङ ल्हामु राजमार्ग ) मा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको र सोही वेलामा मुआव्जा वितरण भईसकेको भन्दै आयोजनाले मुआब्जा दिन नमानेपछि स्थानीय बासिन्दाले संघर्षको कार्यक्रम घोाषणा गरी आईतबार नुवाकोट जिल्ला बन्द गरेका हुन् ।
मुआब्जा पीडित संघर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुन पुगेको छ । यातायात वन्द हुंदा यात्रुले सास्ती पाएका छन् । बन्दले सदरमुकामको बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखाना समेत आंशिक रुपमा प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा उत्रिएर शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् । वन्दकर्ताले सडक अवरोध गरेका कारण नुवाकोटबाट चल्ने सवारी साधन ठप्प हुन पुगेको छ ।
संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए ।
त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्हामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भएकाले आयोजनाले अहिले छुट्टै मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाको भनाई छ । देवकोटाका अनुसार स्थानीयले माग गरे जसरी मुआव्जा दिन कानूनको अभाव भएकोले अहिलेको अवस्थामा पीपलटारदेखि ढुङ्गेसम्मको जग्गाको मुआब्जा दिन नसक्ने अवस्था रहेको छ ।
पीपलटार–ढुङ्गे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी दूरीको सडक निर्माणको काम अहिले भइरहेको छ । सडक विस्तारको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
जग्गा प्राप्ती ऐन, २०३४ अनुसार सडकमा पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरिएको नुवाकोटका प्रजिअ उद्धव वहादुर थापाले बताए । सडक योजना अन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्र पर्ने जग्गाकोे मुआब्जा रकम निर्धारण गरिएको छ । यस अघि मुआव्जा वितरण भईसकेको सडक आसपासका जग्गाको पुनः मुआव्जा वितरणको कुनै व्यवस्था नभएकोले अहिले मुआव्जा दिन नसकिएको प्रजिअ थापा वताउँछन ।
चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छी सम्मको सडक निर्माण तथा विस्तार का लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना मार्फत तीन खण्डमा ९ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ ।
गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ ।
रसुवाको मैलुङ देखि स्याफ्रुबेँसी सम्म १८ किमी सडक नेपाली सेनामार्फत निर्माण भएर गत बर्षको चैत ३० गतेदेखि ट्रयाक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेँसी बाट रसुवागढी सम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।