नेत्रावती डवजोङमा १५ शैयाको अस्पताल बनाउन ९ रोपनी जग्गा दान

1523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ माघ – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने नेत्रावती डबजोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (१५ शैया) को अस्पताल निर्माण गर्न दाताहरुले ९ रोपनी जग्गा निःशुल्क दिएका छन ।
गाउँपालिकाको वडा नम्बर ४ भोग्टेनीमा नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय सुर्यबहादुर गुरुङ तामाङ नक्कली तामाङ र धनु तामाङ ले निशुल्क ९ रोपनी ३ पैसा जग्गा दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णवहादुर पौडेलले वताए । जग्गा दाताहरुले नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्रको नाममा २०७५ माघ ९ गते जिल्ला मालपोत कार्यालय धादिङबाट सो जग्गा लिखत पारित गरि हस्तान्तरण गरेका हुन ।
जग्गा दाताहरुको सहयोग प्रति गाउँपालिका आभारी रहेको र उनिहरुको सहयोगलाई सम्मान गर्दै सो स्थानमा १५ शैयाको अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) निर्माण कार्य तत्काल अघि बढाईने गाउँपालिकाका अध्यक्ष दुर्गानारायण शाक्यले वताए । सरकारले पनि सरकारले पाँच वर्षभित्र धादिङ लगायत देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । धादिङमा अहिले धादिङबेसीमा जिल्ला अस्पताल १, सल्यानटार र गजुरीमा १÷१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ५० वटा स्वास्थ्य चौकी संचालनमा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अगाडि बढाएको छ । ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने पनि मन्त्रालयले जनाएको छ ।
स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल शुरु गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा शुरु गर्ने बताएको छ ।