‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

1256 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो ।

धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार विदेशी आरोहीहरूले पहिलो पटक सफल आरोहण गरेका थिए । स्विट्जरल्याण्डका आरोही रेमन्ड लम्बर्ट नेतृत्वमा रहेको पियरे भिट्टाज, एरिक गौचर र क्लाउड कोगनको टोलीले गणेश हिमालको सफल आरोहण गरेका थिए ।

त्यसको ६४ वर्षपछि गणेश हिमाल विकास समितीको पहलमा पहिलो पटक आरोहण दिवस मनाईएको हो । गणेश हिमालअन्तर्गत ६ वटा चुचुरो छन् । त्यसमध्ये सबै चुचुरो आरोहण भईसकेका छन् ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बक्ताहरूले राजधानीबाट नजिकको गन्तब्य भएर पनि गणेश हिमाल ओझेलमा परेको बताएका थिए । उनीहरुले गणेश हिमाल र त्यस वरपरका क्षेत्रहरुलाई समेत समेटेर गणेश हिमाल आरोहण तथा पर्यटन प्रबद्र्धन अभियान सुरु गर्न आवश्यक रहेको बताए ।

‘गणेश हिमालमा धेरै पहिलेबाटै आरोहण सुरु भएको हो । अहिलेसम्म धेरैले आरोहण गरिसक्नुभएको छ । यद्यपि प्रचारप्रसारको कमिका कारण काठमाडौंबाट नजिकको दुरीमा रहेर पनि गणेश हिमाल र त्यससँग जोडीएका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै आईरहेको छ’, गणेश हिमाल विकास समितीका अध्यक्ष समेत रहनुभएका पर्यटन ब्यवसायी तेजबहादुर गुरुङले भन्नुभयो, ‘त्यसैले हामीले यसलाई अगाडि ल्याउन प्रयास गरिरहेका छौं । त्यसका लागि तपाईहरु सबैको साथ र सहयोगको जरुरी छ ।’ अध्यक्ष गुरुङले गणेश हिमालसम्म पुग्ने बाटो र त्यस वरपर राखिएका सूचना संकेत र सूचना बोर्डहरु समेत ध्वस्त भईसकेकाले तीनलाई पुनः निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गणेश हिमाल आरोहण अभियानलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । ‘आवश्यकता र संभावना दुवै विषयलाई एकैसाथ बोकेको क्षेत्र हो गणेश हिमाल’, मन्त्रि बस्नेतले भन्नुभयो, ‘त्यसैले तपाईहरूले सुरु गर्नुभएको अभियानलाई सफल बनाउँन सरकार तयार रहेको छ ।’

नेपाल पर्वतारोहण संघ ९एनएमए०का अध्यक्ष शन्तबीर लामा, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष नवराज दाहाल लगायतले गणेश हिमाल आरोहण अभियान सफल बनाउँन बिभिन्न प्याकेज बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

‘जानकारीको कमिले हुन सक्छ, गणेश हिमाल आरोहण गर्न हुन्न भन्ने भ्रम पाईन्छ । यो दिवसले त्यो भ्रमलाई चिर्न सफल भएको छ’, टानका अध्यक्ष नवराज दाहालले भन्नुभयो, ‘अव यसका लागि बिभिन्न प्याकेज तय गरेर गणेश हिमाल आरोहण अभियान सफल बनाउँनतर्फ लाग्न आवश्यक छ ।’

यस्तै पूर्वगृह मन्त्री बुद्धिमान तामाङ लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरुले धादिङ जिल्ला, गणेश हिमाल क्षेत्र र रुबीभ्याली गाउँपालिकाको पर्यटन विकास र प्रवद्र्धनमा सरोकारवाला सबै ब्यक्ति तथा निकायले राजनीतिभन्दा माथी उठेर अभियानलाई सफल पार्नतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले गणेश हिमाल क्षेत्र तथा रुबीभ्याली गाउँपालिकाको पर्यटकीय वस्तुस्थितीबारे प्रकाश पार्नुभएको थियो । दिवसलाई सफल बनाउन पर्यटनसंग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, धादिङका पर्यटन व्यवसायी, धादिङ तथा रुबीभ्याली गाउँपालिकाका स्थानीय जनप्रतिनिधीकासाथै स्थानीयबासीहरूको उल्लेख्य उपस्थिती रहेको थियो टुरिजम न्यूज अनलाइनमा खबर छ ।