धादिङको हिन्दुङमा पहिरोमा हराएकाको खोजी तिव्र (फोटो फिचर )

1583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, १५ माघ  – धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा हिमपात पछि गएको पहिरोमा पुरिएर हराईरहेका व्यक्तिको खोजीलाई तिव्र पारिएको छ ।
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गएको पहिरोमा पुरिएर आईतबार विहान देखि बेपत्ता भएका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङको अवस्था अझै थाहा हुन सकेको छैन । भेडा चराउन जंगल गएका उनिहरु लगातारको हिमपात पछि ओडारमा बसेको अवस्थामा आइतबार बिहान ओडार भन्दा माथिको ठूलो चट्टान फुटेर पहिरो गएपछि वेपत्ता भएको स्थानीयले वताए ।
हराईरहेका व्यक्तिको खोजीका लागि जिल्ला सदरमुकाम धादिङबेसी र सेर्तुङबाट नेपाल प्रहरी, शशस्त्र प्रहरी वल कु्रिनटार र सदरमुकाम स्थित गणबाट गएको शशस्त्र प्रहरीलाई सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टरले घटनास्थलमा पु¥याएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रहरी उपरिक्षक डम्बरवहादुर विक,शशस्त्र प्रहरी वल धादिङका गण प्रमुख प्रहरी नायव उपरिक्षक दर्शन गिरी लगायतको टोलीले घटनास्थलको अवलोकन गरेर सदरमुकाम फर्किएको छ ।
यस अघि आईतबार ३ नम्बर प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले घटनास्थलको अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर खोजी तथा उद्धार कार्यलाई तत्काल अघि बढाईने निर्णय गरेको थियो । घटनास्थल सदरमुकाम धादिङबेसीबाट दुई दिनको पैदल दूरीमा पर्दछ । हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालय मार्फत नेपाली सेनाको मा हेलिकप्टर सोमबार उद्धारकर्मी टोलीलाई छाड्न सोमबार घटनास्थल गएको हो ।
घटनास्थल पुगेर फर्किएका धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेले पहिरो खसेको स्थान निकै विकटमा रहेको र अझै पनि पहिरो खस्न सक्ने अवस्था देखिएकाले सावधानीपुर्वक हराईरहेकाहरुको उद्धार तथा खोजी कार्य गर्न सुरक्षाटोलीलाई निर्देशन दिएको वताए । पहिरोले पुरिएको ओडारमा २०० भेडा र ५० भन्दा बढी बाख्रा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले सुरक्षाकर्मी, स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार शुरु गरिएको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
हिउँ परेर मौसम केही उघ्रिएपछि भेडाबाख्रा लिएर चराउन जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले राती देखिनै ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएको हुनसक्ने स्थानीयले वताएका छन् । पहिरोले पुरिएपछि केही भेडा पहिरोमा चेपिएर मरेको देखिए पनि अन्य भेडा र मानिस कुन अवस्थामा छन् भन्ने जानकारी नभएको र उनीहरु जीवितै हुनसक्ने भएकाले सुरक्षित उद्धार गरिनुपर्नेमा प्रदेशसभा सदस्य जगत सिंखडाले जोड दिएका छन् ।
धादिङको रुवीभ्याली क्षेत्र शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयले वताए ।

(तस्बिर सौजन्य : सांसद जगत सिम्खडा,कान्तिपुर टिभिका पत्रकार पोषनाथ अधिकारी, पर्यटन व्यवसायी कुलवहादुर गुरुङ, रेडक्रस कर्मी नारायणकुमार श्रेष्ठ )