डण्डीबियो खेल सिकाउन धादिङमा जिल्ला स्तरीय प्रशिक्षण शुरु

1368 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ माघ – नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न धादिङमा जिल्ला स्तरीय डण्डीबियो प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण शुरु भएको छ ।
जिल्लामा पहिलो पटक आयोजना हुन लागेको विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिताका लागि खेलको नियम सिकाउने र खेलाडीहरु तयार पार्ने उद्धेश्यले शनिबार धादिङबेसीमा डण्डीवियो खेल प्रशिक्षण आयोजना गरिएको हो ।
जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डण्डीबियो संघको संयुक्त आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो खेलका लागि भएको खेलाडी प्रशिक्षणमा जिल्लाका ६० वटा बिद्यालयवाट सहभागिहरुले भाग लिएका थिए । एउट बिद्यालयका एक जना शिक्षक र एक जना बिद्यार्थी सहभागी भएको प्रशिक्षणमा नेपाल डण्डीबियो संघका अध्यक्ष मोतिराम फुयाँल, वस्ती लामा,रविन्द्र पन्त र राजकुमार श्रेष्ठले प्रशिक्षण दिएका छन् ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले लोप हुन लागेको सो खेललाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई खेलको महत्वका वारेमा स्पष्ट पार्ने नेपाल स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले वताए ।
प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितिय हुनेले रु ३० हजार, तृतियले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार पुरस्कार पाउनेछन् । केही दशक अघि सम्म गाउँघरमा सबैभन्दा बढि खेलिने लोकप्रिय खेल भएपनि अहिले डण्डीवियो खेल हराई सकेको र नयाँ पुस्ताले नियम समेत जानकारी नपाएको हुंदा प्रतियोगिता अघि खेलाडीहरु छनौट गरी प्रशिक्षण शुरु गरिएको जिल्लाका स्काउटका समन्वय आयुक्त शिवराज सापकोटाले जानकारी दिए ।