धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

1432 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो ।

जिल्लाको दुई नगरपालिका र ११ गाउँपालिका सहित १३ स्थानीय तहमा आफ्नो भवन नहुंदा अधिकांशले भाडाका घरमा कार्यालय चलाउँदै आएका छन । जिल्लाको सिद्धलेक गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर कार्यालय संचालनमा ल्याएको छ, अधिकांश वडा कार्यालयको पनि आफ्नै भवन वनाएर सिद्धलेक गाउँपालिकाले जिल्लामै नमूना कार्य गरेको छ । पुराना गाविस भवनमा वडा कार्यालय रहेको थोरै वडाहरुले पुरानै भवनबाट वडा कार्यालय चलाएपनि धेरैलाई भने कार्यालय भाडाको घरवाट चलाउनु पर्ने वाध्यता रहेको छ । जिल्लाको गजुरी गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेत्रावती गाउँपालिकालाई कार्यालय वनाउन स्थानीयले जग्गा उपलव्ध गराएका छन । यि वाहेक अन्य स्थानीय तह भाडामा लिईएको घरबाट संचालनमा रहेका छन ।
सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिका साविकको महिला तथा वालवालिका कार्यालयबाट संचालन गरिएको छ । आफ्नै भवन नभएपनि नीलकण्ठ नगरपालिकाले लामो समयपछि भाडाको घरबाट छुटकारा पाएको छ । नगरपालिका कार्यालय जसो तसो चलेको भएपनि १४ वटा वडा रहेको नीलकण्ठ नगरपालिकाको अधिकांश वडा कार्यालयको पनि आफ्नो भवनहरु छैनन् ।
स्थानीय तह गठन भएर जनप्रनिधि निर्वाचित भएको पनि दुई बर्ष पुग्न लाग्दासम्म धेरै स्थानीय तहले आफ्नो भवन निर्माण गर्न मात्रै होइन स्थायी केन्द्र कहाँ हुने हो भनेर निर्णय लिन सकेका छैनन । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको जनप्रतिनिधिहरुको गुनासो छ ।
भवन निर्माणका लागि संघीय सरकारले बजेट दिएको छैन । अधिकांश स्थानीय तहले पनि भवन निर्माणका लागि भनेर वजेट विनियोजन गरेका छैनन । जिल्लाका स्थानीय तहमा भवनका लागि जग्गा पाउनै गाह्रो छ र भवन कुन ठाउँमा निर्माण गर्ने भन्ने विषयमा कार्यपालिकाभित्र एकमत हुन नसके समस्या पनि देखिएको छ ।
जिल्लाका उत्तरी र मध्यक्षेत्रको तुलनामा दक्षिणी भेगमा रहेका स्थानीय तह आर्थिक रुपले केही सम्पन्न देखिएपनि उनिहरुले भवन निर्माणलाई प्राथमिकतामा राख्न सकेका छैनन । धुनिवेशी नगरपालिका,थांक्रे, गल्छी, गजुरी र वेनिघाट रोराङ गाउँपालिका दक्षिणी भेगमा रहेका स्थानीय तह हुन । यि मध्ये गजुरीले आफ्नो भवन निर्माण सम्पन्न गरेर केही दिनमै गाउँपालिकाको कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले जानकारी दिनु भयो ।
गल्छी गाउँपालिकाको पनि आफ्ना भवन छैन, भवन कहाँ वनाउने , जग्गा प्राप्ति कसरी गर्ने भन्ने बिषयमा अहिले सम्म कार्यपालिकाको वैठकमा कुनै छलफल नभएको वडाअध्यक्षहरु वताउँछन ।
स्थानीय तहको आफ्नो भवन नहुंदा बर्षेनी ठूलो धनराशी घरभाडामा खर्च हुने गरेकाल कार्यपालिकाले यस बिषयलाई गम्भिर रुपमा लिएर हरेक वडाको समेत कार्यालय स्थापना गर्ने तर्फ अघि बढ्नु पर्नेमा जनप्रतिनिधिहरु अरु अरु बिषयमा अलमलिएको राजनैतिक अगुवाहरुको भनाई छ ।राजमार्ग क्षेत्रका मात्रै होइन मध्ये र उत्तरी क्षेत्रका पालिकाहरु भाडाको घरवाट कार्यालय संचालन गर्दै आएपनि अधिकांशले कार्यालयको नाममा सवारी साधन भने खरिद गरिसकेका छन ।
कुन वडाको कार्यालय कहाँ राख्दा स्थानीयवासीलाई सजिलो हुन्छ र भवना निर्माणका लागि श्रोत कसरि जुटाउने भन्नेबारेमा सबैभन्दा पहिले सम्वन्धित स्थानीय तहको कार्यपालिका भित्र छलफल गरी सही निर्णय लिने जनप्रतिनिधिहरुको कर्तव्य हो ।