ज्वालामुखीमा अबैध फिरफिरेको बिद्युत्त लाइन काटियो

2441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३० फागुन- धादिङको ज्वालामुखी गाउँपालिकामा अबैध रुपमा संचालनमा रहेको बालुवा धुने उद्योगमा जडान गरिएको बिद्युत्तको लाइन काट्न प्रहरीले अभियान शुरु गरेको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नंम्बर १ मजुवा र पिपलटार क्षेत्रमा अवैध रुपमा बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग संचालन भईरहेको र ति उद्योग वन्द गर्न निर्देशन दिंदा अटेर गरेको सुचनाका आधारमा मैदीबाट अनुमगमनमा खटिएको प्रहरी टोलीले ३ वटा उद्योगको बिद्युत्त लाइन काटेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाठक सन्स एण्ड कन्सट्रकसन, ज्वालाकालिका निर्माण सामग्री उद्योग र डुक्तेश्विरी महादेव प्रालि नामको फिरफिरे उद्योग अबैध रुपमा चलिरहेको र झुक्याएर उद्योगमा बिद्युत्त लाइन जडान भएको पाईपछि प्रहरी टोलीले तार काटि दिनुको साथै प्रत्येक उद्योगबाट २ किलोवाट क्षमताको एक एक वटा मोटर इन्जिन र तार वरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको निर्माण क्षेत्र भित्र मुआव्जा लिईसकेको जग्गामा अबैध रुपमा बालुवा धुने उद्योग संचालन हुनेक्रम बढ्दै गएपछि त्यस्ता अबैध उद्योग वन्द गराउन स्थानीय प्रशासन, प्रहरीले पटक पटक सचेत गराएपनि व्यवसायीहरुले अटेर गर्दै आएपछि प्रहरीले बिद्युत्त लाईन काट्ने तथा मोटर वरामद गर्ने अभियान शुरु गरेको हो ।

जिल्ला प्रशासन, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल , जिल्ला वन कार्यालय,राष्ट्रिय अनुसन्धान कार्यालय लगायतका निकायबाट पटक पटक यस क्षेत्रमा अनुगमन गरी अवैध व्यवसाय वन्द गर्न निर्देशन दिंएपनि व्यवसायीले अटेर गरेको प्रहरीले जनाएको छ ।
त्यसो त धादिङमा संचालित अधिकांश क्रसर उद्योग चार बर्ष देखि अबैध रुपमा चलिरहेका छन । उद्योगको नविकरण नभएपनि व्यवसाय भने चलिरहेको छ । यसै गरी जिल्ला भित्रका बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग सञ्चालनका लागि मापदण्ड तय गरिएको भनि व्यवसायी र स्थानीय तहले मापदण्डको वेवास्ता गर्दै आईरहेको जनगुनासो छ ।
जिल्ला भित्रका साना ठुला खोलाहरुका साथै अन्तरराष्ट्रिय महत्वको त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउनको लागी धादिङ जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा र बालुवा खानी, बालुवा प्रशोधन गर्ने (फिरफिरे) लगायत खानीजन्य उद्योग व्यवस्थापनका लागि प्रचलित कानून विपरित नहुने गरी एक बर्ष अघि मापदण्ड लागु गरिएको थियो ।
सो मापदण्ड अनुसार जिल्लामा संचालित कुनै पनि क्रसर तथा वालुवा धुने उद्योगे रातीको समयमा संचालन गर्न नपाईने र ति उद्योगबाट निस्कने लेदो अर्थात फोहोर पानी र अन्य वस्तु सिधै नदी खोलामा मिसाईए त्यस्ता उद्योग र उद्योग संचालकलाई कालोसुचीमा राखी कारवाही गरिने समेत निर्णय भएको थियो ।

.- तस्बिर सौजन्य :  जिल्ला प्रहरी कार्यालय धादिङ