एडभान्स एकेडेमीमा तेक्वान्दो ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न

877 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-  एडभान्स एकेडेमीले तेक्वान्दो खेलको ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षा सम्पन्न गरेको छ । विद्यालय पाठ्यपुस्तकको रूपमा समावेश गर्दै तेक्वान्दो खेललाई अगाडि बढाइरहेको एडभान्स एकेडेमीले चैत ३ गते आइतबार राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका केन्द्रीय अध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष तथा नेपालमा तेक्वान्दो खेलका संस्थापक सदस्य एकनाथ थापा, उपाध्यक्ष तथा राखेप वरिष्ठ तेक्वान्दो प्रशिक्षक ध्रुवबहादुर गुरुङ, महासचिब राज कुमार कार्की, सिनियर प्रशिक्षक शेरबहादुर थापामगर, केन्द्रीय ग्रेडिङ कमिटी संयोजक प्रेमबहादुर भुजेल र सचिव राकेशकुमार राईको उपस्थिति थियो ।

कक्षा ३ देखि ८ सम्मका विद्यार्थीलाई तेक्वान्दो खेल प्रशिक्षण दिँदै आएको यस विद्यालयबाट गत वर्ष १८ जना विद्यार्थीले ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षा पास गरेका थिए । यो वर्ष कक्षा ६, ७ र ८ बाट ८२ जना विद्यार्थीले परीक्षा दिएका छन् ।

जिल्ला खेदकुद विकास समिति धादिङका पूर्वअध्यक्ष एवम् एडभान्स एकेडेमी कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीको सभापतित्वमा भएको उक्त ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षाको मूल्याङ्कन राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका केन्द्रीय प्रशिक्षकहरूले गरेका थिए ।
एडभान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले एडभान्स एकेडेमीले धादिङमा फरक ढङ्गले विद्यार्थीले शिक्षण गर्दै आएको दाबी गर्दै फरक शिक्षण विधिहरू अन्य सरकारी तथा निजी विद्यालयले समेत अनुशरण गर्न थालेकोमा खुसी व्यक्त गरेका थिए । धादिङमा राखेप तेक्वान्दो प्रशिक्षक राजुराज पाण्डे, सङ्घका धादिङ जिल्ला अध्यक्ष अमृत तामाङलगायतले प्रशिक्षण गराउँदै आएका छन् ।