झरीको याद

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

शोभा अधिकारी
बर्खा लागेपछि कलमले पनि विश्राम लियो । रोपाईँ सकेर फुर्सदिलो समयमा केही लेखौँ भन्ने नआएको होईन तर दिमाग सधैँ बर्षिरहने झरी र खसिरहने पहिरो झैँ चल्तीमा नभएझैँ लाग्यो । धेरै पल्ट सोचेकी हुँ र मनमनै गुनेकी पनि हुँ, बर्खाको झरीले मलाई पनि रित्याएछ क्यारे, सृजना शक्ति बगाएर लगेछ कि जस्तो लाग्यो । रोपाईको चटारोले होला मैले अध्ययनमा कम समय मात्र दिन सकेँ, पहिले बर्षदिनभरि खाने मानोको जोहो नगरी त्यै किताबलाई काखी च्याप्नु मात्र पनि भएन नि ! पहिले गाँसको बन्दोबस्त गर्नुप¥यो अनि अरुको जोरजाम गर्नु नै उपयुक्त ठानेर । घरमा अग्रजहरुको बात सुनेकी थिएँ । यसपालि बर्षादले धेरै चमत्कार ग¥यो अरे, खेत बेलामै रोप्न पाइयो भनेर भन्दैहुनुहुन्थ्यो, फेरी पहिरोले रोपेको खेत पुरेको गुनासो पनिसँगै थियो । बितरा बर्सादले पनि के गरास्  नपरे खडेरी, परे बाडी, पहिरो अनि यस्तै यस्तै ।
बर्खा लागेपछि मलाई याद आउँछ, हामी सानो छँदा, पालीबाट पानी चुहिएर हामीलेै कति दुःख पाएका थियौँ, खाना बनाउन साह्रै हुन्थ्यो, चुल्होमा नै पानी चुहिन्थ्यो । त्यतिखेर म सोच्थेँ यो पानी कहिल्यै नपरोस्, कमसेकम ओबानो घरमा त बस्न पाइन्थ्यो । अर्को बर्ष पनि बर्खा लाग्यो तर पानी कम प¥यो, एकदम कम हाम्र्रो टारी खेत बाँझै बस्ला झैँ भयो, १५ साउन बित्दा पनि खेत रोप्न सकिएला झैँ भएन, बुबाआमा चिन्तित देखिनुहुन्थ्यो, यिनलाई कसरी हुर्काउनु, के ख्वाएर बचाउनु अब यसपाली भन्दै आमा गनगनाउनु भएको मैले धेरै पल्ट सुनेकी थिएँ । मेरो बाल मन भने त्यो बर्ष पानी नपरेकोमा औधी खुसी । पालीबाट पानी नै चुहिएन, चुल्होमा आगो मज्जाले बल्थ्यो । अहिले सम्झन्छु बर्खे झरीले कतिलाई सताएको र सताइरहेको छ, आफ्नो बासको स्थायी बन्दोबस्त गर्न नसक्ने परिवार पपनि धेरै छन् । आकाशबाट बर्षने झरी भन्दा आँखाबाट बर्षने झरीले बगाउला झैँ बनाएको छ निम्नवर्गीय परिवारहरुलाई । जीवनको गतिलाई मन्द बनाएको छ । धेरैको सपनालाई भत्काईदिएको छ खेतको आली भत्काए जसरी । नेताहरुको कुर्ची मोह जस्तो झरीको पनि विनास मोह छ होला कि जस्तो लाग्छ कहिलेकाँही । जे होस् भत्काउने र बिगार्ने बानी मान्छेको मात्रै हैन पानीको पनि रहेछ ।
जे होस् झरीले सबैको रक्षा गरोस् । जगतलाई बचाओस् । सबैको दुःख, दर्द पखालेर खुसीको बर्साद गराइदिनेछ मीठो आशा छ । सबैको मनको धमिलो पदार्थलाई कञ्चन बनाइदिनेछ, जीवन र जगत भरिपूर्ण र सुन्दर बनाउनेछ ।