माझिलोसे बराडाँडामा बढ्यो खानेपानीको संकट

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी -भुकम्प पश्चात खानेपानीको मुहान सुकेपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडा, माझिलोसे टोलका वासिन्दा अहिले सम्म समस्यामा परेका छन् । पुस्तौ देखी पिउँदै आएको पानीको मुहान सुकेपछि बराडाँडा १२ घरधुरी, माझिलोसेका १४ घरधुरी स्थानीयहरु खानेपानीको समस्यामा परेका छन् । गाउँमा खानेपानीको संकट बढ्दै गएपछि समस्या समाधानका लागि गाउँवासीले स्थानीय सरकारसंग सहयोगका लागि याचना गर्दै आईरहेका छन ।
गाउँ नजिकै पानीको श्रोत नरहेको र टाढाबाट पानी ल्याउन धेरै खर्च लाग्ने भएपछि गाउँबासी कष्ट सहन वाध्य भएका हुन । पिउनलाई समेत पानीको समस्या भएपछि पशु चौपाया कसरी पाल्ने भन्ने समस्या परेको स्थानीय जितवहादुर रोकाय बताउनुहुन्छ । सहज रुपमा खानेपानी नपाउदा बालबालिकाहरुको सरसफाईमा समस्या परेको माझिलोसेका रामशरण तामाङले बताउनु भयो । भुकम्प पश्चात राहत र पुर्ननिमार्णको लागि अन्य ठाउँमा विभिन्न संघ संस्था पुगेपनि यो ठाउँमा कुनै पनि संघ संस्थाको ध्यान पुग्न नसकेको गाउँवासीको गुनासो छ ।