एसइई प्रश्नपत्र आउट गर्ने प्रहरी र शिक्षक प्रहरीद्धारा सार्वजनिक

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सप्तरी – एसईई परीक्षाको प्रश्नपत्र बाहिर पठाएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नंम्बर प्रदेश प्रहरी कार्यालयले बिहीबार जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई प्रहरी सहित ६ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीको कडा सुरक्षा घेराबाट प्रश्नपत्र बाहिर पठाउने काममा प्रहरी जवान राजविराज–१० का २२ बर्षिय ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का २५ बर्षिय दिपेन्द्रकुमार मण्डल छन । उनीहरु इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । प्रश्नपत्र मोवाईलमा फोटो खिचेर वाहिर ल्याउने काममा ब्रह्मदेव र दिपेन्द्रकुमारको प्रत्यक्ष संलग्नता देखिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र विष्टले पत्रकार सम्मेलनमा बताउनु भयो ।
अन्य अभियुक्तहरू शिक्षक २८ वर्षीय मनोज यादव, २८ वर्षीय विष्णुदेव यादव, १७ वर्षीय राजेश यादव र १७ वर्षीय उमेश यादवले प्रश्नपत्र सामाजिक सन्जालमा फैलाउन भूमिका निर्वाह गरेको प्रहरीले दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको र मोवाइल तथा सामाजिक सञ्जालको प्राविधिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले बाँकी सबै परीक्षा स्थगित गरेको थियो ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान थालेको थियो । स्थगित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।