वनेरी प्रथाका कारण लोपोन्मुख चेपाङ जाति मर्कामा

668 पटक पढिएको

सम्पादक: Dhadingnews.com

विनोद ढकाल

गोरखा /पहाडी जिल्ला लमजुङमा लोपोन्मुख जातिको रुपमा रहेको चेपाङ समुदायका परिवारहरु विहान र वेलुकाको छाक टार्नकै लागि दिनभर अर्काको घांस काट्न बाध्य छन् । पूर्वी लमजुङको चिती गाउं विकास समिति-६, बरवोटफांटमा रहेका चेपाङहरुका लागी आफ्नो जीवन गुजार्न साहुको घरमा गएर दिनभरी घांस काट्नुको अर्को विकल्पपनि छैन ।

आफ्नो जीवन गुजार्न साहुकोमा गएर साधै घांस काट्ने परम्परालाई ‘बनेरी’ प्रथा भनिन्छ । कमाएर खाने जग्गा जमिन, नोकरी, तथा आयआर्जन गर्ने कुनै पनि माध्यम नभएका कारण चेपाङहरु ‘बनेरी’ बस्न बाध्य भएका हुन् । बाबुबाजेको पालादेखि सहुकोमा ‘बनेरी’ बस्दै आएका चेपाङहरुको विशेषगरि तीन महिनाको समय छ । असारमसान्तदेखि शुरु हुने ‘बनेरी’ परम्परा असोज मसान्तमा सकिन्छ । त्यो बाहेकका दिनमा उनीहरु साहुकोमा नै हली बनेर काम गर्छन् । ‘साहुकोमा ‘बनेरी’ वस्दा दिनमा दुईदेखि चारपटकसम्म घांस काट्नुपर्छ’ चिती गाउं विकास समिति वडा नं. ६, बरबोटफांटका ३९ वर्षिय बलबहादुर चेपाङ भन्छन, ‘अरु वेला त जसोतसो हली गरेर पनि खाइन्छ, यो वेला जोत्ने काम नभएकाले साहुकोमा ‘बनेरी’ वस्नुपरेको हो ।’ दिनभरी घांस काटेर आफ्नो पेट पाल्नु उनको बाध्यता हो ।

आठबर्षदेखि साहुकोमा ‘बनेरी’ बस्दै आएका वलवहादुर चेपाङ चेपाङवस्तीमा सवैभन्दा वढी धनी ब्यक्ति हुन् । उनको छोरा पनि गाउंकै अर्को साहुकोमा ‘बनेरी’ बस्ने र हली वनेका कारण उनीहरुले वर्षमा केही न केही अन्न घरमा भित्र्याउंछन् । जग्गा जमिन केही नभएका कारण वलवहादुरको परिवर साहुले दिएको वारीमा झुपडी वनाई वसेका छन् । साहुले हली बन्दा अलिअलि अन्न दिएपनि ‘बनेरी’ वस्दा केही नदिएकाले उनीहरु ज्यादै मर्कमा परेका छन् ।

पुख्र्यौली पेशा कन्दमुल खोजेर खाने लमजुङका चेपाङहरुको अवस्था ज्यादै दयनीय रहेको छ । ‘महिनाभरि साहुकोमा ‘बनेरी’ वसेर कसरी जीवन गुजार्ने’ साहुकोमा ‘बनेरी’ बसेका स्थानीय सोम वहादुर चेपाङ भन्छन्-’आफूले पाउने खाना परिवारलाई दिनुपर्दा कहिले त भोकभोकै पनि वस्नु पर्छ ।’ थप खाना पाउनका लागि ‘बनेरी’ बसेको घरमा भांडापनि माझ्नुपर्ने सोमबहादुर चेपाङ वताउंछन् ।

उनीहरुमात्रै होईन, लमजुङका प्रायः चेपाङहरु साहुकोमा ‘बनेरी’ बस्न बाध्य छन् । ‘बनेरी’ वस्ने घरका साहुहरुले पनि उनीहरुलाई दिनु सम्मको दुःख दिएका छन् । ‘चेपाङहरू स्वतन्त्रता चाहन्छन्, यो चलन चेपाङहरुलाई मन परेको छैन’ नेपाल चेपाङ संघ लमजुङका अध्यक्ष जुनमाया चेपाङ भन्छन्, ‘वर्षौंदेखिको यो परम्परा अन्त हुनुपर्छ ।’

लमजुङमा लोपोन्मुख चेपाङ जातिको चिती गाविस-६, बरवोटफांटमा आठ र हिलेटक्सार गाविसको भिरकुनामा चार गरि १२ घर छन् । चेपाङहरुको वस्ती पहिला भीरकुनामा थियो । जग्गा जमिन केही नभएका कारण त्यहांवाट उनीहरु करीव ४५ वर्ष पहिले बरवोटफांटमा वसाई सरेका हुन् । लमजुङमा चेपाङहरुको जनसंख्या ६० को हाराहारीमा रहेको छ ।

लमजुङमा पिछडिएका वर्ग, दलित, जनजातिहरुको लागि भनि थुप्रै सरकारी तथा गैरसरकारी निकायहरुले काम गर्दै आएकाछन् । तर, ती संघसंस्थाहरु चेपाङवस्तीमा पुग्न सकेको छैन । रुढीवादी परम्परावाट ग्रसित लमजुङका चेपाङ समुदायहरुको जीवन शैली अन्य समुदायको भन्दा भिन्नै रहेको छ । उनीहरुको जीवनशैली उकास्नका लागि सरकारले पनि पहल गर्न जरुरी देखिएको छ ।