राजधानीमै बर्डफ्लु संक्रमण बढ्दै, कागमा समेत बर्डफ्लु

994 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २४ चैत – राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ । लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच ५ एन १ )रहेको पुष्टि भएको हो ।सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए। प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको थियो। बर्डफ्लु संक्रमणबाट मरेका उक्त कागबारे जानकारी संगठनको वेबसाइटमा समेत राखिएको छ।

पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा केही दिनयता बर्डफ्लु भेटिएका छन्। बाँसघारीमा गुड बनाएका करिब दुई सय कागको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। राजधानीमा गतवर्ष र विगतमा पनि कागमा बर्डफ्लु देखिएको थियो। ‘यो वर्ष राजधानीका कागजस्ता जंगली पन्छी (वाइल्ड वर्ड) मा बर्डफ्लु देखियो,’ विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले भने, ‘परेवाको समेत मृत्यु भइरहेको छ तर हालसम्मको नमुना परीक्षणमा बर्डफ्लु देखिएको छैन।’ जंगली पन्छीमा देखिएको बर्डफ्लु नियन्त्रण गर्न अत्यन्त अप्ठ्यारो हुने औंल्याउँदै डा। निर्मलले भने, ‘सकेसम्म मरेका पन्छीलाई सुरक्षित उपाय नगरी खुला हातले छुनु हुँदैन।’‘जंगली पन्छीका साथै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा समेत अहिले बर्डफ्लु भेटिएका छन्,’ उनले भने, ‘उपत्यकाबाहेक सर्लाहीको एउटा र मोरङको दुई कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ। बढी मात्रामा २४ देखि २८ साताको लेयरमा बर्डफ्लु देखिएको हो।’ नेपालमा हालसम्म मानिसमा बर्डफ्लु नदेखिएकाले चिन्ताजनक अवस्था नरहेको इपिडिमियोलजी तथा रोग नियन्क्रण महाशाखाका निर्देशक डा।विवेककुमार लालले बताए। शुत्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा।शेरबहादुर पुनका अनुसार बर्डफ्लु पन्छीबाट मानिसमा संक्रमित हुने सम्भावना रहन्छ, यसैले पन्छीलाई रेखदेख गर्ने व्यक्तिलाई अतिरित्त सतर्कता अपनाउनुपर्छ। ‘बर्डफ्लु देखिएको क्षेत्रका बासिन्दाले पन्छीको दिसा, रगत वा कुनै पनि तरल पदार्थ छुनबाट बच्ने प्रयास गर्नुपर्छ,’ उनले भने।

  • आजको कान्तिपुरबाट