धादिङको मलेखुबाट सात ट्रक खयर बरामद

712 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, साउन १० – धादिङको मलेखुबाट ठूलो परिमाणमा प्रतिबन्धित खयरको काठ बरामद भएको छ ।DSC01180

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले मलेखु आसपासबाट बरामद गरेको ७ ट्रक खयर बुधबार सार्वजनिक गरेको हो ।

मलेखु आसपासमा रक्तचन्दन लुकाएको सूचनाका आधारमा गएको प्रहरी टोलीले खयरको काठ बरामद गरेको हो । बरामद भएको खयर दाबी गर्न कोही पनि नआएकाले यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

धादिङका जिल्ला बन अधिकृत गणेश झाले कटानको अनुमति लगेकाहरुले अनुमतिभन्दा बढी परिमाणमा खयर काटेको हुनसक्ने बताउनुभयो ।

मलेखु क्षेत्रबाट दुई दिनमा करिब चालीस टन खयरको काठ बरामद गरिएको र राजमार्गका अन्य स्थानमा पनि केही व्यक्तिले अबैध ढंगबाट खयर कटान गरी लुकाई राखेको जानकारीका आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यता सर्वसाधारणले भने बन कार्यालयको लापरबाहीका कारण बनजंगलहरु सखाप हुदै गएको र प्रतिबन्धित खयर अवैध रुपमा काटिनुमा कर्मचारीकै मिलेमतो भएको आरोप लगाएका छन् ।

खयरको काठ विभिन्न औषधि प्रयोजनका लागि भारतीय बजारहरुमा विक्री हुने गरेपनि बजार मुल्य भने थाहा हुन सकेको छैन । जंगलमा खयरको कटान बढेको जनगुनासा आएपनि प्रहरीले संलग्नलाई पक्राउ गर्न सकेको छैन ।