सिद्धलेकका किसानलाई ६१ वटा हाते ट्याक्टर वितरण

1119 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२७ चैत –  धादिङमा पछिल्लो समय हाते ट्रयाक्टरको प्रयोग ह्वात्तै बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित हुँदै गएका हुन । यसै क्रममा धादिङको सिद्धलेक गाउँपालिकाले किसानलाई खेत बारीजोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर अर्थात (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत विनियोजन भएको बजेटबाट पचास प्रतिशत अनुदानमा किसानलाई पावर टिलर दिइएको हो ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्धेश्यले गाउँपालिकाले ६१ वटा मिनि टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय गाउँमा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानको संख्या न्यून हुंदै गएको छ । अधिकांश युवा विदेशीएका छन । विदेश जान नसकेका र अन्य काममारहेकाहरु शहर पसेका कारण गाउँमा काम गर्ने मान्छे खोज्दा पनि पाइँदैैन । त्यसैले किसानलाई खेती गर्न सहज होस भनेर अनुदानमा हाते ट्याक्टर दिइएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले वताउनु भयो ।
गाउँपालिकाले बितरण गरेको मिनि टिलरबाट खेतबारी जोत्न तथा पानी तान्न समेत मिल्दछ । ५० प्रतिशत अनुदान अन्र्तगत किसानहरुले १६ हजार ७ सय ५० रुपैँयामा मिनिटिलर पाएका हुन । प्रेट्रोल लाग्ने मिनिटिलरमा एक घण्टामा एक लिटर तेल लाग्ने गर्दछ । खेतीलाई सरल र सहज बनाउन किसानलाई मागका आधारमा ट्याक्टर दिंदै आएका छौं । गतबर्ष पनि ४६ वटा मिनिटिलर वितरण गरिएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
ट्रयाक्टरको प्रयोगले काममा कम समय लाग्छ । खर्च पनि कम हुन्छ । कृषिमा यान्त्रीकरण, व्यवसायिकरण र बजारीकरण गर्न सजिलो होस भनेर किसानलाई सहयोग गरिएको अध्यक्ष सिलवालको भनाई छ । ‘परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न गएको छ । कृषिमा यान्त्रिकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, सिलवाल भन्नुहुन्छ । , ‘किसानको माग अनुसार हामी सहयोग गर्नेछौं, हामीले गरेको लगानीको उचित प्रयोग मात्रै होइन किसानले खेतबारी बाँझो राख्न भने पाउने छैनन ।
स्थानीय तह स्थापना हुनु अघि जिल्ला कृषि विकास कार्यालय र अन्य दातृ संस्थाको सहयोगमा धादिङ जिल्लाका विभिन्न स्थानमा हातेट्याक्टर वितरण हुने गरेको थियो । स्थानीय सरकार बनेपछि जिल्लाको सिद्धलेक, गजुरी, वेनिघाटरोराङ, गजुरी, गल्छी, थांक्रे लगायतका गाउँपालिकाले अनुदानमा पावर टिलर वितरण गरिरहेका छन । यसअघि कृषि कार्यालयले ५० प्रतिशत अनुदानमा धान चुट्ने मेसिन, कोदो, गहुँ चुट्ने, मकै छोडाउने मेसिन, थ्रेसर मेसिन लगायतका कृषि यान्त्रिकरण वितरण गर्ने गरेको थियो ।