धादिङ न्यूज समाचार प्रभाव -वृद्धाश्रममा अलपत्र सीता अधिकारीलाई भेट्न पुगे छोराहरु

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – आर्थिक अभावका कारण उपचार हुन नसकेर हेटौँडाको वृद्धाश्रममा अलपत्र परिरहेकी धादिङको गल्छी गाउँपालिका ४ कार्काीडाँडाकी ८७ बर्षिया सीता अधिकारीसंग परिवारका सदस्यहरुको भेट भएको छ ।

आर्थिक अभावका कारण विरामी पर्दा उपचार गराउन समेत नसकेर वृद्धाश्रममा थला परिरहेकी सीता अधिकारीको बारेमा २०७५ चैत २० गते धादिङ न्यूजमा ‘ कार्कीडाँडाकी ८७ बर्षिया सीतादेवी बृद्धाश्रममा अलपत्र’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
गएको १८ महिनाअघि हेटौँडाको श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रममा राखिएको र आश्रममलाई नियमित दिने भनि सहमती गरिएको मासिक शुल्क पनि नदिएको र परिवारका सदस्यहरु भेट्न पनि नगएको भन्ने तथ्य सहितको समाचार आएपछि सोमबार सीता अधिकारीका छोराहरु बाबुराम, शम्भु र रामचन्द्र अधिकारीले आश्रममा पुगेर आमासँग भेटघाट गरेको आश्रमले जनाएको छ ।
आश्रमलाई ०७६ असारसम्म तिर्नुपर्ने रकम तिरेको र आमाका लागि नियमित रुपमा परिवारले भेटघाट गर्ने प्रतिबद्धता समेत जनाएको गल्छी गाउँपालिकाको उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो ।
वृद्ध आमाको नाममा सरकारले दिने सामाजिक सुरक्षा भत्ता सिधै उहाँको हातमा पर्नेगरी उपलब्ध गराउने, बिरामी पर्दा उपचार गराउने, उहाँले चाहेको बेला घरमा ल्याएर राख्ने वातावरण मिलाउन छोराहरुलाई सहमत गराउन वडा कार्यालयले पहल गरेको गल्छी गाउँपलिका–४ का वडाध्यक्ष राजु अधिकारीले बताउनुभयो ।
वृद्धाश्रममा रहनुभएकी आमालाई घर ल्याउन आफूहरु आश्रम पुगेर आग्रह गरेपनि उहाँले अहिले घर फर्कन नचाहनु भएकाले आश्रमलाई सहयोग उपलब्ध गराएर अवका दिनमा नियमित भेटघाट गर्ने  प्रतिबद्धतासहित आफूहरु घर फर्केको सीता अधिकारीका छोरा रामचन्द्र अधिकारीले बताउनुभयो । सीतादेवीलाई भेट्न छोराहरु बाबुराम, शम्भु र रामचन्द्र आश्रममा गएका थिए । सीतादेवी उहाँहरुको सौतेनी आमा हुन ।