केवलपुरे किसानको ९४ औं जन्म जयन्ती उहाँकै जन्मथलोमा मनाईयो

2529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

केवलपुर(धादिङ)—झर्रो भाषामा चेतनामूलक कविता लेखेर देश र दुनियाँलाई जागा बनाउन सफल जनकवि केवलपुरे किसानको ९४ औं जन्म जयन्ती उहाँकै जन्मथलो धादिङको केवलपुर स्थित च्युरीपाटीमा मनाईएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानले चैत ३० गते शनिवार केवलपुरे किसानको जन्मथलो थांक्रे गाउँपालिकाको वडा नम्बर १० च्युरीपाटीमा ‘सम्झानामा जनकवि केवलपुरे किसान’ बिषयक छलफल तथा साहित्यिक बसाईको आयोजना गरि जनकवि किसानको जन्मजयन्ती मनाएको हो । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राध्यापक नरनाथ लुईटेल हुनुहुन्थ्यो । कार्यक्रममा केवलपुरे किसानका बिद्यार्थी राष्ट्रिय सभा सदस्य माननीय बलराम बाँस्कोटा, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल, गाउँले बलदेव अधिकारी, रामहरि लम्साल, हरि सिलवाल, थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेतीको बिशेष आतिथ्य रहेको थियो । यसै गरी थांक्रे गाउँपालिका वडा नम्बर १० का अध्यक्ष गोकुलप्रसाद लामिछाने, नेकपा ३ नम्बर प्रदेश कमिटि सदस्य नेत्रराज पौडेल, साहित्यकार डिल्लीप्रसाद मुलतिहुन लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्राध्यापक प्राध्यापक डाक्टर रामहरि लम्साल, प्राध्यापक डाक्टर गाउँले वलदेव अधिकारीले विविध काेणबाट किसानकाे व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नु भएकाे थियाे ।  प्रमु्ख अतिथि लुईटेलले कवि किसानको परिचय, उहाँको जिवनमा आईपरेका उतार चढाव, केवलपुरे किसानको चिनारी, उहाँको साहित्यिक अभियानका वारेमा जानकारी दिनु भएको थियो  ।कार्यक्रममा कवि किसानकै आवाज रहेको कविता र हङ्कङवासी छाेरा कमल पाैडेल र काठमाडाैवासी विमल पाैडेलकाे अडियाे मन्तव्य प्रस्तुत गरिएकाे थियाे ।

केवलपुरमा जन्मेर देश विदेशमा गाउँको नाम चिनाउन सफल राष्ट्रिय विभूती जनकवि केवलपुरे किसानको योगदानको कदर गर्दै उहाँ जन्मिएको गाउँमा शालिक निर्माण गर्नुका साथै साहित्यिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको तर्फबाट योजना वनाएर कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले कार्यक्रममा प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रमका प्रमु्ख अतिथि, बिशेष अतिथि अतिथि तथा अन्य सहभागीहरुले केवलपुरे किसानको जिवनसंग सम्वन्धित तथा अन्य रचना बाचन गरेर केवलपुरलाई साहित्यिक माहौलमय वनाईदिएका थिए । स्थानीय सर्जकहरुका साथै राजधानी काठमाण्डौं, सदरमुकाम धादिङबेसीबाट पुगेका दुई दर्जन भन्दा बढि सर्जकहरुले रचना बाचन गरेका थिए । थांक्रे गाउँपालिका र कवि किसानका परिवार तथा आफन्तहरुको सहयोगमा पहिलो पटक गाउँमै जन्म जयन्ती मनाईएको हो । कार्यक्रममा स्थानीयबासीमात्रै होइन स्थानीय मावि,उच्च माविका प्रधानाध्यापक, शिक्षकहरु , बुद्धिजीवी, पत्रकार र कवि किसानका दाैतरीहरुकाे उल्लेख्य सहभागिता थियाे ।
विक्रम संवत १९८३ साल चैत २९ धादिङको केवलपुरमा माता विद्यादेवी र पिता हरिप्रसाद पौडेलको सुपुत्रका रुपमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । सहित्य सिर्जनाबाट शोषित, पिडित, गरिब, निमुखा किसानका भाषा वोल्ने तिनै देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन ।
किसानको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणी मा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (सुन्ने कविता संग्रह) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन । जनजिव्रोको ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कविका रुपमा किसान परिचित छन् । कवि किसानको लेखनी दुखी, गरीब नागरिकका समस्या, सरकारी बेथिति र रुढीबादीको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाईन्छ । केवलपुरे किसानको अधिकांश रचना नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित रहेको पाईन्छ ।
बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक कुसंस्कारका बिरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर कृषिक्रान्तिको नायक वन्नु भएका कवि किसानलाई तत्कालिन शासकहरुले जात काट्नुका साथै गाउँमा बस्न नदिएर दुःख दिएका थिए । राष्ट्रियता, प्रजातन्त्र गरिव जनताको पक्षमा शशक्त भएर कलम चलाउने कवि किसानको जीवनको अन्तिम क्षणसम्म पनि उत्तिकै जोशिलो देखिनुहुन्थ्यो । केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाण्डौंमा भएको हो । किसानका दुई छोरा र एक छोरी हुनुहुन्छ ।हलो जोतेर आँफुले कुनै गल्ति नगरेको बरु समाजमा बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन सफल भएको सन्देश दिंदै त्यस घटनाको सम्झनामा किसानले यसरी कविता समेत लेखेका थिएः
लामिडाँडा केवलपुरमा नयाँ पाईला सारें
‘हलो जोत्न हुन्छ’भन्दै गोरु मैले नारेँ,
दुई हजार छ साल हो, फागुन हो मैन्हा
तेईस गते विहिबार तिथि थाहा छैन ।